काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले ‘अखण्ड भारत’ नक्साका विषयमा दुई छिमेकी मुलुक नेपाल र बंगालादेशमा विवाद नरहेको बताएका छन्।
भारतको नवनिर्मित संसदमा राखिएको भित्ते नक्सामा नेपाल, बंगलादेश र पाकिस्तानका केही भूभागसमेत समेटिएको भन्दै विरोध भइरहेको बेलामा भारतीय विदेशमन्त्री जयशंकरले यस विषयमा नेपाल र बंगलादेशलाई स्पष्ट पारिसकिएको बताएका हुन् ।
‘छिमेकी मुलुकहरूले यो विषय बुझिसकेका भन्ने मलाई लागेको छ । यसमा कुनै ठूलो कुरा छैन’, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा जयशंकरले भने, ‘मलाई जानकारी भएसम्म उनीहरूले यो विषयलाई बुझिसकेका छन् । पाकिस्तानको विषय भने यसमा फरक छ ।’
उनले यस मामलामा पाकिस्तानले बुझ्ने छ भन्ने आशासमेत नभएको बताए । ‘पाकिस्तानसँग हाम्रो विषय स्पष्ट छ । यो खाली सरकारको मात्रै होइन, पूरै देश र संसदको स्ट्यान्ड हो । यसमा परिवर्तन गर्नेको कोही सम्भावना छैन ।’
बिहीबार दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेको नौ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विदेशमन्त्री जयशंकरले उक्त अभिव्यक्ति दिएका हुन् ।