काठमाडाैं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि अन्तर्राष्ट्रिय विमान अवतरण गर्न गरेकाे छ । आन्तरिक उडानमा सीमित भएको विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नु आफैंमा ऐतिहासिक हुने नै भयो।
आज बिहान भित्रिएको सिचुआन एयरलाइन्सको यस विमान रेगुलर सेड्युलको फ्लाइट भने होइन। चीनबाट पोखरामा सिधा चार्टर्ड उडान गरेको हो यस विमानले।
चीनको ऋण सहायतमा २८ अर्बभन्दा धेरैको लगानीमा निर्माण भएको पोखरा विमानस्थललाई धेरैले ‘ऋणको पासो’का रुपमा अर्थ्याउँदै आएका छन्। यसखाले अर्थ्याई ६ महिनासम्म उडान नहुँदा स्वाभाविक रुपमा पुष्टि हुनेतिरै देखियो।
चीनको छेन्दु-तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको जहाज आज बिहान ९ बजेर ९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
विमानलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितको टोली पोखरामा प्रतीक्षारत अवस्थामा थियो। कुनै पनि विमानस्थलमाथि हुने पहिलो अन्तर्राष्ट्रिय उडानको विशेष अर्थ हुन्छ नै। त्यसैले मन्त्रीसहितको टोलीले स्वागत गरेको हो पहिलोपटक विदेशी विमानबाट ल्यान्ड भएका यात्रुहरुलाई।
पर्यटनमन्त्री किरातीका लागि चीनबाट भएको यो उडानको विशेष अर्थ पनि छ। प्रचार रुचाउने उनका लागि देखाउन सकिने कामको सूचीमा यो उडान पनि थपिएको छ। सोसल मिडियामा उनले त्यसबारे लेखेका पनि छन्।
तिब्बत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही विमानबाट नेपाल फर्किएका छन्। उनीसहितको नेपाली टोली र शुक्रवार तथा शनिवार फेवातालमा हुने ‘ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी पनि यसैबाट आएका छन्। सबैगरी १ सय ३५ यात्रु विमानबाट नेपाल आएका छन्।
अहिले तत्कालको चासो भने पोखरा विमानस्थल निर्माणको लागि लिइएको ऋण र त्यो तिर्न सक्ने हाम्रो क्षमता छ कि छैन भन्ने हो। सो ऋणको कुल रकम २८ अर्ब रुपैयाँ बापत नेपालले ब्याज मात्रै वार्षिक ३३ करोड रुपैयाँ चीनको एक्जिम बैंकलाई बुझाउनुपर्नेछ।
पोखरा विमानस्थलबाट हुनसक्ने आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संभाव्यता हेर्दा विमानस्थल संचालनबाट प्राप्त हुनसक्ने प्रतिफल उक्त ऋणको ब्याज तिर्न पर्याप्त हुने देखिंदैन र यो ऋण तिर्न अर्को ऋण लिनुपर्ने अवस्था उत्पन्न हुनसक्छ। फलस्वरूप नेपाल पनि छिमेकी मुलुक बंगलादेश र श्रीलंका या टाढाका मुलुकहरू अंगोला, जाम्बिया र केन्या जस्तै चिनियाँ ऋणको पासोमा पर्ने हो कि भनेर नेपाली समाज चिन्तित भएको देखिन्छ।
अर्थशास्त्रमा ‘ऋणको पासो’ भन्नाले ऋणदाताको फाइदाको लागि सिर्जना गरिएको यस्तो अवस्थालाई मानिन्छ जहाँ ऋणी या आसामीको भूमिकामा रहेको व्यक्ति या व्यावसायिक कम्पनी उच्च ब्याजदरको कारणले या ऋणमा बनेको व्यवसायबाट अपेक्षित लाभ नहुनाले पुरानो ऋण तिर्नको लागि नयाँ ऋण लिन बाध्य हुँदै जान्छ र ऋण र ब्याजको चक्रव्यूहमा फसेर टाट पल्टने अवस्थामा पुग्छ।
कुनै नागरिक या व्यवसाय ऋणको पासोमा फस्यो भने उसले आफ्ना सहयोगी, वित्तीय संस्था या राज्यलाई हार-गुहार या ऋणको पुनर्संरचना गरेर पासोबाट उम्कन सक्छ। तर देश नै फसेको अवस्थामा उसका उपायहरू सीमित हुन्छन् र यही अवसरको दुरूपयोग गरेर ऋणदाता मुलुक ऋणी मुलुकको प्राकृतिक स्रोत र राजनीतिक निर्णयहरूमा नियन्त्रण विस्तार गर्दछ।
वर्तमान विश्वमा ‘ऋणको पासो’ धनी र न्यून आय भएका विकासशील मुलुकहरूबीचको आर्थिक सम्बन्धमा व्यापक प्रयोग हुँदै आएको छ। यो क्रम बढ्दै जाँदा ऋणदाता मुलुकहरूले राजनीतिक र आर्थिक प्रभाव बढाउँदै लैजान सक्छन् भने ऋणी देशका राजनीतिक तथा प्रशासनिक संरचनाहरू कमजोर हुँदै जान्छन् र आफ्नो सार्वभौमिकताको रक्षा गर्न पनि अक्षम हुन्छन्। यस्तो चक्रव्यूहमा परेको देशले ऋणबाट फाइदा त लिन सक्दैन नै, उसको आफ्नै स्रोतबाट हासिल गर्न सक्ने जति विकास पनि अवरुद्ध हुन्छ।
यो विमानस्थल गत जनवरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १ गते उद्घाटन गरेका थिए उद्घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो। त्यसयताको यो पहिलो अन्तर्राष्ट्रिय उडान हो।
सिचुआन एयरलाइन्सको विमान आज दिउँसो नै चीन फर्किने छ। के पोखरा विमास्थलमा ल्यान्ड भएको चिनियाँ विमानले ‘ऋणको पासो’मा परेको उक्तिलाई मेटाउन भूमिका खेल्छ? त्यसका लागि भने प्रतीक्षा नै गर्नुपर्ने छ।