काठमाडौं । पपगायक कोको लीको मृत्युले चिनियाँभाषी संसारलाई स्तब्ध तुल्याएको छ । चिनियाँ सामाजिक सञ्जालमा मानसिक स्वास्थ्य समस्याको चर्चा छाएको छ । साताको अन्त्यमा आफ्नै ज्यान लिने प्रयास गरेपछि कोमामा परेकी लीको मृत्यु भएको थियो । उनी ४८ वर्षकी थिइन् ।
उनी पछिल्लो समय डिप्रेसनबाट समेत पीडित थिइन् । चीनको मनोरञ्जन जगतकी आइकन रहेकी उनी हङकङमा जन्मिएकी अमेरिकी गायिका थिइन् । बिजुलीजस्तै ऊर्जा र भव्य मुस्कानका लागि उनी चिनियाँमाझ परिचित छिन् । बुधबार राति निधनको समाचार बाहिर आएपछि मानिस यसलाई विश्वास मानिरहेका थिएनन् ।
‘म यो विश्वास गर्न सक्दिन । उनी सधैं गाउन, नाच्न र हाँस्न मन पराउने सनसाइन केटी थिइन्,’ तीन हजारभन्दा धेरै लाइक गरिएको ट्वीटरजस्तै चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबाको पोस्टमा लेखिएको छ । ‘त्यसो भए पनि यो संसारमा कोही सुखी मान्छे छ ?,’ अर्को एकजनाले टिप्पणी गरेका छन् ।
श्रद्धाञ्लीको रूपमा धेरैले उनको परिवारले उल्लेख गरेजस्तै मानसिक स्वास्थ्यको मुद्दामा ध्यान केन्द्रित गर्दै टिप्पणी लेखेका छन् । सीसीटीभी, पिपुल्स डेली र चाइना डेलीजस्ता चिनियाँ सञ्चारमाध्यमले डिप्रेसन र मानसिक स्वास्थ्यबारे जनचेतना जगाउन ‘डिप्रेसन तपाईंको नजिक छ’, ‘डिप्रेसनका संकेतहरु’ लेखिएका ह्यासट्यागहरु चलाइरहेका छन् । सांघाई न्युयोर्क युनिभर्सिटीमा समाजशास्त्रका सहायक प्राध्यापक डा. जिया मियाओ भन्छन्, ‘मानिसले यो झन् बढी दबाबको विषय भएको महसुस गर्न सक्छन् ।’
यो चीनले सामना गरिरहेको डरलाग्दो अवस्थाको लक्षण हो । मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिको संख्या द्रूत रूपमा बढ्दा चिनियाँ चिकित्साको सञ्जालले यो समस्याविरुद्ध सामना गर्न सकिरहेको छैन । डिप्रेसन वा कुनै पनि मानसिक रोग लामो समयदेखि चिनियाँ समाजमा समस्या बन्दै आएको छ । चीनमा मानसिक रोगलाई संकेत गर्ने केही शब्दहरु ‘जिंगसेन बिंग, ‘सेन्जिङ बिंग’ छन् जसले मानसिक स्वास्थ्यको समस्या भएका मानिसलाई दिमागभन्दा बाहिरको मान्छेको रुपमा हेरिन्छ ।
सामाजिक सञ्जालको खाता डिप्रेसन रिसर्च इन्स्टिच्युटका संस्थापक के रेनले ठूलो संख्यामा चिनियाँहरु मानसिक स्वास्थ्यको समस्याले ग्रसित भएको हुन सक्ने बताइन् । ‘राम्रो अंक नपाएकाले भवनबाट हाम फाले’ जस्ता कुराहरू सुन्ने गर्छौं,’ सुश्री रेन भन्छिन्, ‘तर हामीले ती मानिसलाई के भयो ? र उनीहरूलाई कस्तो प्रकारको मद्दत चाहिन्छ भनेर सोध्ने मौका पाएनौं।’विगत १० देखि १५ वर्षमा चीनको अर्थतन्त्र द्रुत गतिमा अघि बढेसँगै व्यक्तिमाथि दबाब बढेको छ ।
विद्यालय र कार्यस्थलमा हुने प्रतिस्पर्धा झन् उग्र बन्दै गएकाले चिनियाँ जनतालाई दबाब महसुस भएको र मानसिक स्वास्थ्यको समस्यातर्फ ध्यानाकर्षण भएको सांघाई न्युयोर्क विश्वविद्यालयका डा. मियाओले बताए । ‘धेरै मानिसले आफूलाई यी समस्याबाट पीडित पाएपछि उनीहरु परिवार र साथीसँग आफ्ना अनुभव साझा गर्न र पेशेवर मद्दत खोज्न इच्छुक छन् । यसले यस विषयमा उनीहरुको दृष्टिकोण स्पष्ट भएको छ’ उनले भने ।
तथ्यांकअनुसार चीनमा निराशवादी जनसंख्याको संख्या तीव्र रुपमा बढेको छ । सन् २०१९ मा सार्वजनिक गरिएको चाइना मेन्टल हेल्थ सर्भेका अनुसार प्रत्येक सात चिनियाँ नागरिकमध्ये एक जना आफ्नो जीवनकालमा कम्तीमा एक प्रकारको मानसिक रोगबाट ग्रसित हुनेछन् ।
व्यापक रूपमा सफल देखिएका मानिसले पनि आफ्ना अनुभव बाँड्न थालेका छन् । सन् २०१५ मा प्रकाशित एउटा लेखमा हुवावे कम्पनीका टेक दिग्गज रेन झेंगफेइले आफू एक पटक गम्भीर डिप्रेसन र चिन्ताबाट पीडित भएको खुलासा गरे । टेक कम्पनी सोहुका संस्थापक झाङ चाओयाङले आफ्नो विगतको डिप्रेसनको अनुभवलाई धेरै पटक खुलेर सम्बोधन गरेका छन् ।
महामारी र चीनको अत्यन्त कडा ‘शून्य–कोभिड’ नीतिले पनि मानिसलाई असर गरेको छ ।
‘महामारीको समयमा मानसिक स्वास्थ्य समस्या देखा पर्यो । मानिसको आम्दानीमा समस्या भयो । जागिर खोज्न समस्या देखियो । मानिसको चिन्ता सधैं रहेको छ र अझ बढ्दै गएको छ,’ डा. मियाओले भने । यस वर्षको सुरुमा हुनान प्रान्तको एक प्रसिद्ध पर्यटकीय स्थलमा आत्महत्या गरेका चार युवाको मृत्युले चीनमा मानसिक स्वास्थ्य र सामाजिक दबाबको बारेमा चर्को बहस सुरु गरेको थियो ।
चीन सरकारले यसलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । डा. मियाओले विद्यालय र विश्वविद्यालयमा अब मानसिक स्वास्थ्य सल्लाहकार हुनु आवश्यक रहेको र ठूला सहरमाका सामुदायिक एकाइले वृद्ध व्यक्तिको मानसिक स्वास्थ्यको हेरचाह गर्न कर्मचारी नियुक्त गरेको बताएका छन् । तर सबैभन्दा चुनौतीपूर्ण भनेको पर्याप्त व्यावसायिक मनोचिकित्सक नहुनु हो । सरकारी मिडिया चाइना युथ डेलीका अनुसार चीनमा सन् २०२१ को अन्त्यसम्ममा ६४ हजार मनोचिकित्सक मात्र थिए ।
‘सामाजिक चेतनाको द्रूत गतिको तुलनामा, देशले मानसिक रोगहरूको निदान र उपचारको लागि लामो यात्रा गर्न बाँकी छ,’ डा. मियाओले थपे । बीबीसीबाट अनुदित