काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ तिंकरका अमितसिंह तिंकरीले चार वर्षदेखि रोजगारी मात्र गुमाएका छैनन्, उनको पुस्तैनी व्यापारको रूपमा चलेको पसल सीमापारिको चिनियाँ स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट (पुरङ) मा अलपत्र परेको छ। कोभिड–१९ को महामारी शुरू भएपछि बजार र सीमा नाका एकसाथ बन्द हुँदा २०७६ चैतमा सामानले भरिएको पसलमा ताला लगाएर गाउँ फर्केका उनी त्यसपछि उता जान पाएका छैनन्।
पहिलो र दोस्रो लहरको कोभिड महामारी आएर सकिएपछि सीमावारि र पारि दुवैतर्फको जनजीवन सामान्य बनिसकेको छ। तर, बर्सेनि हिउँदयाम छल्दै तिंकर नाकापारि ताक्लाकोट गएर व्यापार व्यवसाय चलाउने दार्चुलाका मात्र ५० परिवारभन्दा बढी नेपालीको पुस्तौँदेखिको सामाजिक–सांस्कृतिक जीवनशैली भने अझै लयमा फर्किन पाएको छैन। तिनै व्यवसायी परिवारमध्येका एक हुन् अमितसिंह।
हिउँ कम हुँदा वर्षको ६ महिना तिब्बतको सीमावर्ती बजार ताक्लाकोटमा बसेर व्यापार गर्नु र बाँकी सिजन गाउँ फर्केर परिवारसँग बिताउनु उनको पुस्तैनी पेशा हो। उनले थाहा पाउँदा हजुरबुवाले गर्ने यस्तो पेशा बाबुबाट विरासतको रूपमा उनले पाएका थिए। यो क्रम उनीसम्म आइपुग्दा सातौँ पुस्तासम्म सरिसकेको छ।
तर, पेशाको निरन्तरतासँगै अमितसिंहको परिवारको जीविकोपार्जनको आधार नै ठप्प भएको छ। सीमापारिको ताक्लाकोट बजारमा रहेको आफ्नो पसल कोभिड माहामारीको शुरूमै बन्द गरेर छाडेपछि एकपटक हेर्न मात्र पनि जान नपाएकोमा उनलाई छटपटी भइरहेको छ। पसलमा लत्ताकपडा, भाँडाकुडा र अन्य गरी करिब ३० लाख रुपैयाँका सरसामान थिए। ती सामान कति बिग्रिए, कति नष्ट भए र के कति सकुशल छन् उनलाई थाहा छैन।
आफ्ना सरसामान रेखदेखका लागि छोटो समयलाई भए पनि तिंकर नाका खोल्ने प्रयासमा दर्जनौँ परिवारका प्रतिनिधि संघीय सरकारको ध्यानाकर्षण गराउन दुई वर्षभन्दा लामो समयदेखि लगातार काठमाडौँ धाइरहेका छन्। व्यापार व्यवसाय नष्ट हुने चिन्तासँगै त्यस भेगको सामाजिक परम्पराको रूपमा स्थापित ‘सीमा वारपार’ सम्बन्ध भंग हुन लागेकोमा दु:खमनाउ पनि छ उनीहरूलाई।
पसलै राखेर तिब्बततिर व्यापार गर्नेबाहेक हिउँ नपर्ने सिजनमा सीमापारिबाट मालवस्तु किनबेचको कामले आउजाउ गर्ने व्यापारीहरू पनि छन्। उनीहरूको आवागमन पनि कोभिड महामारी शुरू भएयता बन्द छ।
नेपालबाट तिब्बत गई व्यापार गर्ने दार्चुलाका व्यवसायीहरूलाई पसलका सामानसँगै आफ्नो पुँजी फसेकोमा बढी चिन्ता छ। अहिले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने छांगरु र तिंकर गाउँका १० जनाको समूह काठमाडौँ आएर सुदूरपश्चिमको अन्तिम उत्तरी सीमा नाका खोल्नतर्फ संघीय शासन–प्रशासनको ध्यान तान्ने प्रयासमा छ। अघिल्लोपटक गाउँपालिकाको नेतृत्वमा वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समेतलाई भेटेका उनीहरूले यसपालि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर तिंकर नाका तत्काल खोल्न आग्रह गरे।
“हामीले मुख्य रूपमा दुईवटा माग राखेका छौँ। चार वर्षदेखि बन्द रहेको नाका छोटो समयको लागि भए पनि खोलियोस् र त्यहाँ सरकारी स्तरमै विधिवत् रूपले एउटा स्थायी नाका शुरू गरियोस्,” व्यास गाउँपालिका–१ छांगरुका योगेश बोहराले उकालोसँग भने, “कोरोनाको समयमा खासमा चीनतिरबाट बन्द गरिएको उक्त नाका अहिलेसम्म खुलेको छैन।”
दार्चुला जिल्लाबासीहरुका लागि यसअघि जिल्ला प्रशासन कार्यालयबाट एक वर्ष अवधिको पास लिएर ताक्लाकोटसम्म वारपार गर्ने व्यवस्था थियो। तत्कालका लागि त्यही सुविधा मात्र पाए पनि जनजीवन लयमा फर्किने छांगरु र तिंकरका स्थानीयको माग छ।
सीमापारिको चिनियाँ भूभाग व्यापारी मात्र नभई अन्य सर्वसाधारणको लागि पनि रोजीरोटी आर्जनको आकर्षक गन्तव्य थियो। त्यहाँको निर्माण क्षेत्रमा काम गर्न जाने दार्चुलाका सयौँ युवाहरूले राम्रो आम्दानी गरिरहेका थिए।
सीमापारि एक दिन काम गरेको ज्याला १२० चिनियाँ युआन पाइन्छ। यो रकम हालको विनिमय दरअनुसार नेपाली मुद्रा २ हजार १९१ रुपैयाँ बराबर हो। कोभिडको कारण अन्तरदेशीय आवतजावत बन्द हुनुअघि जिल्ला प्रशासन कार्यालयले बनाइदिएको पास लिएर सीमापारि काम गर्न जाने दार्चुलावासीको संख्या उल्लेख्य थियो। उनीहरूको दैनिक जीविकोपार्जनसमेत चार वर्षयता चुनौतीपूर्ण बनेको छ।
माओवादी द्वन्द्वकालमा विस्थापित भएको भारतको सीतापुरसँग जोडिने छांगरु छोटी भन्सार र तिब्बतको ताक्लाकोटसँग जोडिने तिंकर छोटी भन्सार पुनर्स्थापित गर्नुपर्ने माग व्यास गाउँपालिकावासीले राखेका छन्। छांगरु र तिंकर गरी हिमाल फेदका दुई गाउँका वासिन्दा हिउँदमा उच्च हिमाली भेगबाट तल्लो दक्षिणी भूभागतिर बसाइँ सर्ने गर्छन्। त्यहाँ वर्षमा एक सिजन फापरबाहेक अन्य बाली उत्पादन हुँदैन।
यी दुई गाउँका बासिन्दा वस्तुभाउ पाल्ने र भारतको धार्चुला तथा तिब्बतको ताक्लाकोटमा व्यापार व्यवसाय तथा श्रमको काम गर्नेजस्ता आर्थिक स्रोतमाथि आश्रित रहँदै आएका थिए। ताक्लाकोट जान नपाएपछि उनीहरूको भारततर्फको एकतर्फी निर्भरता बढेको छ।
दार्चुलाको उत्तरी हिमाली गाउँ तिंकरदेखि दुई किलोमिटर दूरीमा सीमावर्ती प्रहरी पोष्ट छ। त्यहाँदेखि तीन घण्टाको पैदल दूरीमा नेपाल–चीन सीमाको पिल्लर नम्बर १ पर्छ। त्यसपछि तिब्बती क्षेत्रको कालोपत्रे सडकमार्गको २२ किलोमिटर पार गरेपछि ताक्लाकोट पुगिन्छ, जसको चिनियाँ नाम पुरङ हो। यो बजार नेपाल–तिब्बतको ऐतिहासिक व्यापारिक सम्बन्धको प्रतीकको रूपमा रहेको छ।
दार्चुलाको व्यास गाउँपालिकाबाट गत वैशाखमा काठमाडौँ आएको प्रतिनिधिमण्डलले संघीय सरकारसँग तीनवटा माग राखेको थियो। तत्काल नाका सञ्चालन गरेर ताक्लाकोटमा व्यापार गर्दै आएका नेपालीको समस्या समाधान, भारतको सीतापुरसँग जोडिने छांगरु र तिब्बत (चीन) को ताक्लाकोटसँग जोडिने तिंकरमा छोटी भन्सार स्थापना र नेपालतर्फबाट सडक सम्पर्कबिहीन व्यासमा सडक बनाउनुपर्ने उनीहरूको माग थियो।
ऐतिहासिक व्यापारिक मार्गको रूपमा रहेको तिब्बतको ताक्लाकोटसँग नेपालको तिंकर नाका सञ्चालनका लागि व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी नेतृत्वको टोलीले गत वैशाखमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापन-पत्र बुझाएको थियो। आफूहरूले गृहमन्त्री र चिनियाँ राजदूत लगायतका सबै सरोकारवालालाई भेटेरै अन्य नाका खुलिसकेपछि पनि तिंकर नाका नखुल्नुको कारणबारे जिज्ञासा राखेका थिए।
“१८ सयदेखि ३८ सय मिटरसम्मको उचाइमा पर्ने व्यास गाउँपालिकाको माथिल्लो भेगमा खेतीपाती नहुने भएकाले व्यापारिक नाका खुला गर्न अति आवश्यक रहेको भन्दै तत्काल यसमा पहल गर्न सबैलाई आग्रह गरेका थियौँ,” प्रतिनिधिमण्डलमा सामेल व्यास गाउँपालिकाका उपाध्यक्ष विनोद सिंह कुँवरले उकालोलाई टेलिफोनमा भने, “उहाँहरूले सकारात्मक रूपमा लिएको र यथाशीघ्र प्रयास गर्छौं भन्नुभएको थियो, तर तीन महिनासम्म परिणाम नआएपछि फेरि उही माग लिएर गाउँपालिकाबाट छुट्टै टोली पनि काठमाडौँ जाने तयारीमा छौँ।”
त्यसबाहेक तिंकर–ताक्लाकोट हुँदै कैलाश पर्वत र कैलाश मानसरोवरको पर्यटकीय रुट सञ्चालन भएमा आफूहरूको दैनिक जीवनमा ठूलो परिवर्तन आउने व्यासका बासिन्दाको सपना छ। त्यही सपनाका कारण वारिका व्यापारीहरूले सीमापारिको सयौँ वर्ष पुरानो आर्थिक–सामाजिक सम्बन्धलाई संघर्षपूर्वक जोगाउँदै आएका छन्।
दार्चुलाको उत्तरमा दुई ठूला छिमेकी राष्ट्रहरू चीन र भारतसँग सिमाना जोडिएको व्यास गाउँपालिका कैलाश मानसरोवरको सबभन्दा पायकको प्रवेशद्वार हो। ताक्लाकोटदेखि ३२ किलोमिटरमा मानसरोवर र ५२ किलोमिटरमा कैशाल पर्वत पर्छ। यी दुवै ठाउँ विश्वभरका हिन्दू तथा बौद्धमार्गीहरूको लागि स्वप्नगन्तव्य मानिन्छ।
दार्चुलाबाट कैलाश पर्वतसम्मको पर्यटकीय रुटलाई दार्चुलाका उम्मेदवारहरूले प्रमुख चुनावी मुद्दा बनाउँदै आएका छन्। त्यसलाई कार्यान्वयन गर्नतर्फ भने कुनै पनि सरकारले ठोस पहल नगरेको र उक्त योजना परिकल्पनामा मात्र सीमित भएको दार्चुलाका बुद्धिजीवी हेमेन्द्र बोहरा बताउँछन्।
“पर्याप्त सम्भावना बोकेर पनि अवसर पर्खिरहेको, फरक जीवनशैली, संस्कृति र पर्यटकीय आधारको प्रचुरता भएको व्यास गाउँपालिका विकास र समृद्धिको पर्खाइमा छ,” उनले भने, “व्यासका वासिन्दाको जीवनस्तर उकास्ने अनेक सम्भावना हुँदाहुँदै पनि सरकारी अकर्मण्यताले उनीहरू अभाव र विपन्नता भोगिरहेका छन्।” साभार उकालाे अनलाइनबाट