चिनियाँ गिराेहले नेपाललाई बनाए अपराधकाे अखाडा, ४ वर्षमा ८ सय बढी चिनियाँ देश निकाला

काठमाडाैं । चिनियाँ गिराेहले नेपाललाई अपराधकाे अखाडा बनाइरहेका छन् । पछिल्लाे समय संगठित रूपमा नै चिनियाँहरू अपराधमा संलग्न हुँदै आएका छन् ।

पछिल्लो चार वर्षको तथ्य केलाउने हो भने, नेपालमा अवैध काममा संलग्न भएको आधारमा ८३७ जना चिनियाँ देश निकालामा परेका छन् ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार अवैध काममा संलग्न भएपछि सन् २०१९ मा ४२७ जना, २०२० मा २२६ जना, २०२१ मा ३४ जना र २०२२ मा १५० जना देश निकालामा परेका थिए ।

नेपाल प्रहरीका अनुसार चिनियाँहरू पछिल्लो समय नेपालमा अनलाइन ठगीमा सक्रिय देखिएका छन् । यस्तै, एटिएम ठगी, सुन तथा डलर तस्करी, वन्यजन्तु ओसारपसारमा पनि चिनियाँहरू पक्राउ परेका छन् ।

सात वर्षको तथ्याङ्क हेर्ने हो भने अपराधमा संलग्न चिनियाँको संख्या १५ सय बढी छ। विशेषगरी उनीहरूले पर्यटन भिसाको दुरूपयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका छन् ।

गत महिना प्रहरीले ९ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी धन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले ह्वाटसएपमार्फत् मानिसहरू ठग्दै आएका थिए । सुरूमा उनीहरूले लगानी गरेर धेरै पैसा कमाउन सक्ने भन्दै सन्देश पठाउँथे । सर्वसाधारणलाई विश्वासमा लिनका लागि अनलाइनबाट सामान किनबेच गर्ने अनलाइन शपमा लगानी गर्न उनीहरूले ह्वाटसएपमार्फत् लोभ देखाउँथे । अनलाइन शपमा लगानी गरे ३० प्रतिशतसम्म नाफा कमाउन सकिने उनीहरुको सन्देशमा लेखिएको हुन्थ्यो ।

जो-जो उनीहरूको सन्देशमा फस्थे, उनीहरू अपरेसन टिचर नामको बेवसाइट खोल्थे । सो अनलाइनमा गएपछि लगानी कसरी गर्ने भन्ने सिकाइन्थ्यो । सुरूमा ५० हजार रूपैयाँ लगानी गर्न लगाइन्थ्यो । लगानीको नाममा रकम पठाउन लगाइन्थ्यो र त्यो रकम उनीहरूले हात पार्थे ।

सुरूमा एक ठाँउबाट अर्को ठाँउमा सामान पठाइएको भन्दै केही रकम पनि दिइन्थ्यो । यसरी मानिसलाई प्रलोभनमा पारेर विस्तारै पैसा असुल्ने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । कतिपयले लगानी १२ लाख रूपैयाँसम्म गरेका थिए ।

यसरी गरिएको लगानीबाट पैसा आउने कुरै थिएन । अझ बीचमा उनीहरूले नक्कली प्रहरी बनाएर अवैध लगानी गरिरहेको भन्दै मानिसहरूलाई सन्देश समेत पठाउँथे । उनीहरूले सन्देश पठाउनुको अर्थ मानिसले प्रहरीलाई खबर नगरोस् भन्ने थियो । पछि मानिसहरूले आफू ठगिएको थाहा पाउँथे । प्रहरीमा यस्तो ठगीबारे उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो ।

अनुसधानपछि प्रहरीले हुवाङ हुआनरोङ, छु फुसियाङ, लान झेङ्वे, जेइ गुओ यी, जेइ सुवाङ डी, गाओ मिङ, हउ पिङ भिङ, चेन दुर लिन र ली जियान होङलाई पक्राउ गरेको थियो ।

प्रहरीले चिनियाँलाई काठमाडौंको बूढानीलकण्ठ महादेवखोला, चपली र चन्डोलबाट पक्राउ गरेको थियो । उनीहरूले यी स्थानमा घर भाडामा लिएर ठगी धन्दा चलाएका थिए । उनीहरूले ठगीको रकम नेपाली नागरिकको नाममा खोलिएको खातामा जम्मा गर्ने गरेका थिए । नेपाली नामको खाताको सबै नियन्त्रण उनीहरूको हुन्थ्यो । चार वटा खाताबाट एक करोड ६४ लाखको कारोबार भएको प्रहरीको भनाइ छ ।

चार वर्षअघि त एकैपटक एक सय २२ जना चिनियाँ पक्राउ परेका थिए । माफिया गिरोहले उनीहरूलाई नेपालमा राखेर अवैध अनलाइन गेमिङ र ठगीको काम गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

भिजिट भिसामा नेपाल आउन‍े र कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको प्रहरी अनुसन्धाले देखाउँछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त ब्युरोले ‘विशेष अपरेसन’ नै चलाएर बुढानीलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरू पक्राउ गरेको थियो । उनीहरूलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको थियो ।

चिनियाँ नागरिक बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो । पक्राउ परेका चिनियाँबाट ७४७ वटा मोबाइल, ल्यापटप ३३१ वटा, सिपियु ९८, मनिटर ९९ वटा, पेन्ड्राइभ २२ वटा, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थान फेला परेको छ । एकै व्यक्तिका साथबाट ३ देखि ५ वटासम्म ल्यापटप बरामद भएको थियो । सिआइबीले गरेको अनुसन्धानमा उनीहरूले नेपालमा बसेर अन्य देशमा साइबर अपराध गरेको खुलेको थियो ।

पक्राउ परेका १२२ जना चिनियाँ देश निकाला गरियो । अध्यागमन विभागले जनही एक हजार रूपैयाँ जरिवाना तिराएर उनीहरूलाई स्वदेश फर्काएको थियो । विभागले चिनियाँलाई चार वर्ष नेपाल छिर्न प्रतिबन्ध लगायो । उनीहरूको पासपोर्ट कालोसूचीमा राखियो । चिनियाँ नागरिकलाई नेपाल भ्रमण भिसामा आएर अरू नै गतिविध गरेको देखिएकाले देश छिर्न प्रतिबन्धसहित पासपोर्ट कालोसूचीमा राखिएको थियो ।

देश निकालामा परेका चिनियाँलाई लिन काठमाडौंमा दुई वटा चार्टर्ड चिनियाँ विमान आएका थिए । नेपालस्थित चिनियाँ दूतावासको पहलमा उनीहरूलाई लिन दुई विमान आएका थिए । चीन फर्काउनुअघि चिनियाँलाई काठमाडौंमा पक्राउ गरेर अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको थियो । साइबरजन्य अपराध गरेको भन्दै प्रहरीले पक्राउ गरे पनि सो कसुर स्थापित नभएको दाबी गर्दै प्रहरीले उनीहरूलाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाएको थियो । यसरी नेपालमा गम्भीर अपराध गरे पनि उनीहरू सहजै उम्किएका थिए ।

त्यसपछि पनि चिनियाँ नागरिक आपधारिक गतिविधिमा संलग्न हुने क्रम रोकिएन । झन् बढ्न थाल्यो । जसका कारण समस्या झन् जटिल बन्दै गएको छ । कतिपयले राहदानीसम्म नबोकी नेपाल छिरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । उनीहरूले अनलाइन ठगीका साथै बैंक खातामा समेत उनीहरूको पहुँच बनाउने गरेका छन् । गत वर्ष नेपालका विभिन्न पाँच बैंकमा १४ बैंक खाता चिनियाँ ठगको नियन्त्रणमा पुगेको समेत खुलेको थियो ।

उनीहरूले सुरूमा नेपालीलाई खाता खोल्न लगाउने गरेका थिए। खाता खोलेपछि चेक, हस्ताक्षर र एटिएम उनीहरूले प्रयोग गर्दै आएका थिए । जसमा उनीहरूले १० करोड रूपेयाँसम्मको करोबार गरेको उपत्यका अपराध अनुसन्धान कार्यलयको विवरणमा उल्लेख छ ।

चिनियाँ संलग्न हुने अर्को अपराध हो, अवैध रकम करोबार । नेपालका विभिन्न नाकासहित राजधानीबाट बेलाबेलामा चिनियाँ नागरिक अवैध रकमसहित पक्राउ पर्ने गरेका छन् । एक वर्षअघि प्रहरीले झण्डै चार करोड रूपैयाँसहित चार चिनियाँ र एक नेपालीलाई पक्राउ गर्‍यो । पक्राउ पर्ने नेपाली ड्राइभर थिए । उनीहरूबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख रूपैयाँ बरामद गरेको थियो । प्रहरीका अनुसार त्यो रकम अवैध कल सेन्टर तथा अनलाइन जुवाबाट संकलन भएको रकम थियो ।

चिनियाँहरू यौन अपराधमा समेत संग्लन हुने गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत चैतमा सामाजिक सञ्जालमार्फत् नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिकालाई पक्राउ गरेको थियो । ललितपुरको बुङमतिमा कोका न्यू प्युरी एन्डा म्याट्रेस कम्पनी सञ्चालन गर्दै आएका ४९ वर्षीय चिनियाँलाई प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालको दुरूपयोग गरी नाबालिकालाई सुरूमा साथी बनाउने त्यसपछि उनीहरुलाई विभिन्न प्रलोभन देखाइ काठमाडौं बोलाएर यौन शोषण गर्ने खुलेको थियो ।

याङ लि मिङ नामका चिनियाँको देखाउने काम नेपालमा व्यापार गर्ने भए पनि उनको मुख्य उद्देश्य यौन अपराध थियो । उनले ६ जना बालिकालाई बन्धक बनाएका थिए । १४ देखि १७ वर्ष उमेर बालिकामध्ये दुई जनालाई बुङमतिको अपार्टमेन्ट र ४ जनालाई ठमेलको होटलमा बन्धक बनाइएको थियो ।

गत वर्षको वैशाखमा प्रहरीले २२ जना चिनियाँलाई एकैपटक पक्राउ गर्‍यो । बुढानिलकण्ठबाट पक्राउ परेकामा १० जना पुरूष र १२ जना महिला थिए । पर्यटक भिसामा नेपाल आएका उनीहरू अवैध अनलाइन जुवा खेलाउने काममा संग्लन थिए । उनीहरू भिसाको म्याद सकिए पनि नेपालमै बसिरहेका थिए ।

गत मंसिरमा काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भयो । बिहान साढे ११ बजे चक्कु प्रहार गर्ने चिनियाँ नागरिक नै थिए । उनले धारिलो चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएका थिए । ३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान साउजिंगमाथि चक्कु प्रहार गरेका थिए ।

प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन् । उनीहरू नेपालमा घुम्न आएका हुन् । तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको थियो । दुई वर्ष उनीहरू जाम्बियामा सँगै बसेका थिए । २९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा भोलिपल्ट निधन भयो । चक्कु प्रहार गरी साउजिंगको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो । यता चुआनको पनि पेटमा गहिरो चोट लागेको थियो ।

चिनियाँ नागरिकले नेपालमा गर्ने अर्को अपराध अवैध सुनको कारोबार हो । नेपालमा भित्र्याइने अवैध सुनमा चिनियाँको संलग्नता हुने गरेको छ । २०७४ सालमा एउटा घटनाले चिनियाँले नेपाललाई सुन तस्करीको मुख्य थलो नै बनाएको देखिएको थियो ।

केही दिन अघिमात्र पनि त्रिभुवन विमानस्थलबाट सय किलो सुन बरामद भएको घटनामा चिनियाँ पक्राउ परेका छन् । उनी सुन तस्करीमा लामो समयदेखि संलग्न रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । गाडीको चक्कामा लाग्ने ब्रेक शुभित्र सुन हालेर यसअघि नै १८ पटकसम्म सुन तस्करी भएको आशंका गरिएको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले त्यतिबेला राति २ बजे क्षेत्रपाटीबाट ८८ केजी अवैध सुन बरामद गरेको थियो । यसबेला भने राजश्व अनुसन्धान विभागले भन्सार कटेर सिनामंगल पुगेको १०० किलो सुन समातेको हो ।

सुनको मुख्य तस्कर चिनियाँ नागरिक थिए । बरामद सुन नेपाल-चीनको केरूङ नाका हुँदै नेपाल भित्रिएको र यो तस्करीमा चिनियाँ नागरिक वान मिङको मुख्य भूमिका थियो । त्यसअघि र पछि पनि नेपालमा पटक पटक चिनियाँ नागरिक संलग्न हुने गरेको अवैध सुन बरामद गरिएको थियो ।

२०६० साल ताका भारतीय र चिनियाँ तस्कर मिल्दै रक्तचन्दनको अवैध कारोबार गर्न नेपाली भूमी प्रयोग गर्थे । सिन्धुपाल्चोकको तातोपानी तथा रसुवा नाकाबाट करोबार हुन्थ्यो । तस्करले भन्सार कर्मचारी मिलाउनेदेखि जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकारी र केन्द्रीय नेतासम्म पहुँच बनाउँथे । चिनियाँ धनाढ्यले प्रयोग गर्ने फर्निचरका लागि रक्तचन्दको प्रयोग हुने गरेको थियो ।

रक्तचन्दसँगै अन्य गैरकानुनी काममा चिनियाँ संलग्न हुने काममा डलर, सुन, वन्यजन्तुका अंग, जडीबुटीको अवैध ओसारपसार छन् । नेपालमा अन्य व्यवसाय गरेको देखिए पनि चिनियाँहरू भित्रभित्र आपराधिक र अवैध करोबारमा संलग्न हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार