चिनियाँ व्यापारीको धन्दा: हङकङबाट सुन तस्करी, काठमाडौंबाट यार्सागुम्बा

काठमाडाैं । राजस्व अनुसन्धान विभागले एक हप्ताअघि बरामद गरेको एक क्वीन्टल सुन कसको हो भन्ने अझै पत्ता लगाउन सकेको छैन । विभागको टोलीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पास गरेर बाहिरिएको उक्त सुन ट्याक्सीबाट बरामद गरेकाे थियाे । त्यसदिन ट्याक्सी चालकलगायत तीन जनालाई पनि पक्राउ गरेको थियो ।

सुन प्रकरणबारे अनुसन्धान तीव्र पारेको विभागले हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ । सुन प्रकरणबारे सुरुवाती चरणमा विभागले आफैँ अनुसन्धान गरेको थियो । तर, अनुसन्धान जटिल देखिएको र संगठित अपराधमा अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीको समेत सहयोग मागेको छ ।

हाल विभागले समातेको सुन प्रकरणबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोमा कार्यरत एसपी कृष्ण पंगेनीलाई खटाएको छ । पंगेनी सोमबारदेखि खटिएका छन् । विभागले पक्राउ गरेका मध्ये हालसम्म सुनका मालिकमध्येका एक जना चिनियाँ नागरिक जिक्वाङ लिङ रहेको दाबी गरेको छ ।

उनलाई ४ साउनमा नेपाल छाडेर चीन भाग्न लाग्दा विमानस्थलबाट विभागकाे टाेलीले पक्राउ गरेको थियो । सुन रेडी ट्रेड कम्पनीको नाममा काग्रोमामार्फत नेपाल भित्रिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयमा रेडी ट्रेड कम्पनी दोलखाका रामकुमार भुजेलको नाममा दर्ता रहेको र त्यसमार्फत सबै कारोबार भोजपुरका हर्कराज राईले गर्ने गरेको खुलेको छ ।

उनीहरूसमेत पक्राउ परिसकेका छन् । तर, हालसम्मको अनुसन्धानले उनीहरू भरिया मात्रै रहेको देखिएको छ । विभागले कार्गोमार्फत आएको सुन भन्सार कार्यालको एक्सरे मेसिनहुँदै पास हुनुलाई मिलेमतोको आशंका गरेको छ ।

विभागले सो प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्टलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । विभागले भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्स रे प्राविधिक सरोज श्रेष्ठलाई पक्राउ गरेको छ ।

यस्तै, भन्सार एजेन्टहरू सिन्धुपाल्चोकका यादव पराजुली, चितवन मेघौलीका सुदर्शन गौतम र झापा गौरादहकी रुक्मिला सुब्बा पक्राउ परेका हुन् ।

यो प्रकरणमा यसअघि नै भारतीय नागरिक थिप्तेन छिरिङ, दोलखाका रामकुमार भुजेल, दिलीप भुजेल, भोजपुरका हर्कराज राई, चितवनका अशोक लामा, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट र राजेन्द्र राई पक्राउ परेका थिए ।

सुन हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत अटोपार्ट्स नाममा कार्गो गरेर नेपाल ल्याइएको थियो ।

सुनको यकिन परिमाण अझै आइसकेको छैन । राष्ट्र बैंककाे टक्सार विभागले जाेख्दा ब्रेकशुसहित १ सय ५५ केजी तौल देखिएको विभागले जनाएको छ ।

त्रिदेशीय व्यापारीको कनेक्सन
विभाग स्रोतका अनुसार करिब १ सय किलो सुन प्रकरणमा चिनियाँ व्यापारी, नेपाली र भारतीय व्यापारीको समेत संलग्नताको आशंका गरिएको छ ।

करिब १ अर्ब रुपैयाँ बराबरको सुन भएका कारण ठूला व्यापारी नै संलग्न भएको आशंका विभागको छ । विभाग स्रोतले भन्यो, ‘अहिले नै धेरै कुरा खुलेको छैन । ठूलो लगानी भएका कारण नेपाल, चीन र भारतका व्यापारीहरूकै संलग्नता छ कि भन्ने हाम्रो आशंका छ । हामी अनुसन्धानकै चरणमा छौँ ।’

भारतीय नागरिक र एक जना चिनियाँ नागरिकसमेत पक्राउ पर्नुले कुनै नेपाली व्यापारीको भूमिकासमेत हुन सक्ने आशंका विभागको छ । हाल प्रक्राउ परेका नेपालीहरू भने भरिया मात्रै हुन् । रेडी ट्रेड कम्पनीका मालिक भनिएका दोलखाका दिलीप भुजेललाई भने ‘डमी’को रूपमा प्रयोग गरेको खुलेको छ ।

विभाग स्रोतका अनुसार उक्त सुन नेपालहुँदै भारत लैजान खोजिएको देखिएको छ । रेडी ट्रेडमार्फत हङकङबाट करिब ४ सय किलो अटोपार्ट्स आयात भएको देखिएको छ ।

चिनियाँ व्यापारीले पछिल्लो समय सुन तस्करी गर्ने र त्यसबाट आएको रकमले नेपालबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा खरिद गरेर लिने गरेको खुलेको छ । यार्सागुम्बाकाे मूल्य हाल प्रतिकिलाे १५ लाखदेखि २५ लाखसम्म पर्ने गरेकाे छ ।

यसअघिसमेत चीनहुँदै भेपमार्फत सुन तस्करी गर्ने गरेको खुलेको थियो । उक्त सुनसमेत भन्सारकै कर्मचारीको मिलोमतोमा चोरी भएको थियो ।

हाल विभागले नियन्त्रणमा लिएको १ सय किलो सुनसमेत भन्सार कार्यालयकै कर्मचारीको मिलोमतोमा पास भएको खुलेको छ । भन्सारका प्रवक्ता अम्बिकाप्रसाद खनालले एक्सरे मेसिनमा शंकास्पद देखिँदा पनि कर्मचारीले पास गरेको स्वीकार गरे ।

उनले भने, ‘एक्सरे मेसिनमा केही शंकास्पद वस्तु देखिएको छ । तर, कर्मचारीले त्यसलाई राम्ररी हेर्नुपर्नेमा छोडेको देखिन्छ । बाहिर स्कुटरको ब्रेकशुजस्तै देखिएको भएर काटेर हेर्नुपर्ने भएकाले त्यत्तिकै पठाएको हुन सक्छ । बाँकी त विभागको अनुसन्धानले देखाऊला ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार