दुई चिनियाँ सुन तस्कर गिरोहको सम्बन्ध खोज्दै सिआइबी

काठमाडाैं । सवारीसाधनका पार्टपुर्जा र विद्युतीय चुरोट (भेप)भित्र राखेर नेपालमा सुन तस्करी गर्ने दुई चिनियाँ गिरोहबीच सम्पर्क देखिएको छ । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा फरार रहेका दीपेश बस्नेतको पछिल्लोपटक सवारीसाधनका पार्टपुर्जामा राखेर तस्करी गर्ने समूहका व्यक्तिसँग पनि सम्पर्क देखिएको हो ।

भेपभित्र लुकाएर हुने तस्करीमा अवरोध भएपछि सवारीसाधनका पार्टपुर्जालगायतका सामानमा सुन लुकाएर तस्करी गर्न थालेको हुन सक्ने अनुसन्धानकर्ताको प्रारम्भिक आकलन छ । राजस्व अनुसन्धान विभागले गरेको प्रारम्भिक छानबिनमै यसका केही प्रमाण भेटिएका थिए । संगठित शैलीको अन्तर्देशीय अपराध भएकाले आइतबार विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई अनुसन्धानको जिम्मा दिएको छ ।

भेपमा लुकाएर तस्करी गर्न लागिएको सुनको सिआइबीले अनुसन्धान गरी मुद्दा दायर गरिसकेको छ । जसमा चिनियाँ समूहले भेपभित्र लुकाएर नौ किलो सुन तस्करीको प्रयास गरेको थियो । भेप भन्सारबाट लिलामी गराउने र सहजै सुन पास गर्ने उनीहरूको योजना थियो । तर, भन्सारको स्टोरबाटै सुनजडित भेप चोरी भएपछि भन्सार कार्यालयले प्रहरीमा निवेदन दिएको थियो । सोही आधारमा सिआइबीले भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कासहित सातजनालाई पक्राउ गरी असारको अन्तिम साता मुद्दा दायर गरेको थियो ।

भन्सार कार्यालय स्टोरमा भेपमा सुन रहेको थाहा पाउने र चोरी गर्ने योजनाकारमध्ये एक व्यक्ति भन्सारमै एजेन्टका रूपमा काम गर्ने दिनेश बस्नेत थिए । चोरिएको सुन बिक्री गर्नेमा उनका भाइ दीपेश बस्नेतको प्रमुख भूमिका देखिएकोमा उनी फरार छन् । दीपेशको पछिल्लो सय केजी सुन तस्करीमा संलग्नसँग समेत सम्पर्क देखिएको सिआइबी स्रोत बताउँछ । उनी पनि भन्सार एजेन्ट हुन् । सिन्धुपाल्चोक स्थायी घर भएका दीपेश बारम्बार चीन जाने गरेको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

त्यसरी सुन तस्करी गर्न खोज्ने चिनियाँ भने भोलिपल्टै भाग्न सफल भएका थिए । उनलाई नेपालमा सहयोग गर्ने कोही पनि पक्राउ परेका छैनन् । ती चिनियाँको राजनीतिक नेतृत्वसँग पनि सम्बन्ध देखिन्छ ।

१० पुस ०७९ मा सुन लुकाइएको भेप भन्सारले नियन्त्रणमा लिएको थियो । दुई महिनापछि त्यो भन्सारबाट चोरी भयो । सय केजी सुन तस्करी गर्ने समूहले गत फागुन–चैतदेखि काठमाडौंमा तयारी सुरु गरेको देखिन्छ । जस आधारमा भेपमार्फत तस्करी असफल भए पनि चिनियाँ समूहले नयाँ ब्रेकसुमा लुकाएर तस्करी थालेको हुन सक्ने अनुसन्धानमा आबद्ध सिआइबी अधिकारी बताउँछन् । ‘एउटै समूह हो भन्ने केही आधार भेटिएका छन्,’ उनले भने, ‘फरार रहेका चिनियाँ पक्राउ परेपछि यसमा थप प्रस्ट हुन्छ ।’

राजस्व अनुसन्धान विभागले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा यसमा संलग्न १८ जनालाई पक्राउ गरेकोमा एक भन्सार एजेन्टलाई स्वास्थ्यका कारण हाजिरी जमानीमा छाडी १७ जनालाई सिआइबीको जिम्मा लगाएको छ । सिआइबीले संगठित अपराध र भन्सार छलीको मुद्दामा अनुसन्धान गर्न सोमबार जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । ब्युरोले एसपी सञ्जयसिंह थापाको नेतृत्वमा अनुसन्धान टोली गठन गरेर यसमा अनुसन्धान थालिसकेको छ ।

दावा र थुप्तेनको मोबाइलमा लुकेको छ गिरोहको रहस्य
पक्राउ परेकामध्ये चिनियाँ मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङमाथि सिआइबीको अनुसन्धान केन्द्रित छ । भारतीय नागरिक थुप्तेन नेपालतर्फ सुन तस्करीको व्यवस्थापन मिलाउने व्यक्ति हुन् । उनले नै गरिब नेपालीको नाममा कम्पनी दर्ता गरी सवारीसाधनका पाटपुर्जा तथा अन्य सामानमा लुकाएर तस्करीको वातावरण बनाएका थिए ।

त्यस्तै, दावाको नेपालमा नेता तथा सुरक्षा अधिकारीसम्म चिनजान देखिएको छ । नेपाली महिलासँग बिहे गरेर व्यवसायसमेत गर्दै आएका उनी पाँच वर्षदेखि नेपालमा बस्दै आएका छन् । हुन्डीदेखि जडीबुटी, सुन तस्करीलगायत धेरै किसिमको अपराधमा उनको संलग्नता देखिएको छ । प्रहरीका उच्च हाकिमसँग पनि उनको सम्बन्ध पनि भेटिएको छ । नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकले उनलाई ‘फोन नै रिसिभ भएन त भाइ’ भन्दै ह्वाट्सएपमा म्यासेज पठाएको अनुसन्धान अधिकारीले पत्ता लगाएका छन् । छिरिङ नेपालीसमेत बोल्छन् । उनले उच्च प्रहरी अधिकारीलाई दाइ भन्ने गरेका थिए । विगतमा कल बाइपासदेखि अवैध कल सेन्टरको धन्दामा पनि उनको सम्पर्क देखिए पनि प्रहरीले उनीमाथि कारबाही गर्न सकेको थिएन । जसकारण यो काण्डमा केही पूर्वप्रहरी अधिकारीमाथि समेत छानबिन हुने सम्भावना छ ।

दावा र थुप्तेनको मोबाइल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ । पक्राउ पर्नुअघि नै उनीहरूले मोबाइलका धेरै डेटा डिलिट गरिसकेका थिए । रिकभर हुन सकेमा सुन तस्करीको उच्च तहको नेटवर्क पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । उनीहरूले वी च्याटमार्फत कारोबारीबीच संवाद गर्दै आएका थिए । तस्करीमा संलग्न अन्य चिनियाँ गिरोहका सदस्यको नाम पत्ता लागे पनि उनीहरू भने फरार भइसकेका छन् । उनीहरूले काठमाडौंका चार ठाउँमा गोदाम राखेर सुन लुकाउने, गाल्ने र बाँडफाँट गर्दै आएका थिए ।

भन्सार एजेन्ट दीपेश बस्नेत, जसको दुवै तस्कर समूहसँग देखियो ‘कनेक्सन’
भन्सार कार्यालयको स्टोरमा भेपमा सुन रहेको थाहा पाउने र चोरी गर्ने योजनाकारमध्ये एक दिनेश बस्नेत भन्सारमै एजेन्टको सहयोगीका रूपमा काम गर्थे । चोरिएको सुन बिक्री गर्नेमा प्रमुख भूमिका देखिएका उनका भाइ दीपेश बस्नेत फरार छन् । उनी भन्सार एजेन्ट हुन् । पछिल्लो सय केजी सुन तस्करीमा संलग्न व्यक्तिहरूसँगसमेत दीपेशको सम्पर्क देखिएको सिआइबी स्रोत बताउँछ । सिन्धुपाल्चोक स्थायी घर भएका उनी बारम्बार चीन जाने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । साभार नयाँ पत्रिका दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार