भारतले भव्यताका साथ मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनाइएकाे छ । यो उत्सव भारतको स्वतन्त्रताको ७६ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको दूतावासले जनाएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै समारोहको शुभारम्भ गरे । यस अवसरमा राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई शुभकामना पनि दिए ।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेकाे सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुको बलिदानको स्मरण गरिन् । साथै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गरिन् ।

 

राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन् । साथै उनले विकास एवं मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएकी थिइन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेषगरी जी–२० को अध्यक्षताबारे पनि उल्लेख गरिन् ।

दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई नेपाली रु ५.३३ करोड रकम वितरण गर्दै सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्तिपूर्ण गीतका साथै अन्य प्रस्तुति दिएका थिए । आजको कार्यक्रम दूतावासको फेसबुक तथा युट्युब पेजमार्फत पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार