एजेन्सी । सिङ्गापुर प्रहरीले मनी लन्ड्रिङ विरुद्ध चलिरहेको अभियान अन्तर्गत छापा मारेर एक अर्ब सिङ्गापुर डलर बराबरको सम्पत्ति जफत गरेको छ । यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यो ९८ अर्ब २६ करोड रुपैयाँ बराबर हो ।
यसमा सुन, महँगा कार, विलासी घर, डिजाइनर ह्यान्डब्यागलगायत २३ मिलियन सिङ्गापुर डलर नगद समावेश छन् । यस घटनामा हालसम्म १० जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट विदेशी राहदानी समेत बरामद गरेको छ ।
यी मानिसहरू चीन, कम्बोडिया, टर्की र वनुआटु जस्ता देशका नागरिक भएको बताइएको छ । यिनीहरु ३१ देखि ४४ वर्ष उमेर समूहका हुन् । प्रहरीका अनुसार यो समूह विदेशी संगठित अपराध गतिविधिलगायतका घोटालाहरू र अनलाइन जुवाबाट हुने अपराधको आयलाई लुट्ने काममा संलग्न भएको आशंका गरिएको थियो ।
तर सिङ्गापुरमा यस प्रकारको छापा विरलै हुने गरेको छ किनभने सिङ्गापुरमा अपराध दर विश्वका अन्य देशको तुलनामा निकै कम छ ।
सिङ्गापुर प्रहरीको वाणिज्य मामिला विभागका निर्देशक डेभिड च्युले भने, ‘ सिङ्गापुर अपराधीहरूको लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग भएको हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ ।’
‘अपराधीहरूलाई हाम्रो सन्देश स्पष्ट छ –हामीले तपाईंलाई समात्यौँ भने पक्राउ गर्नेछौँ । यदि हामीले तपाईंको अवैध सम्पत्ति फेला पार्यौँ भने हामी ती जफत गर्नेछौँ । र तपाईंविरुद्ध कानुनी रूपमा कडा कारबाही गर्नेछौँ ।’