नेपालमा फेरि बढ्यो चीनको गतिविधि

काठमाडाैं । केही समययता नेपालमा चिनियाँ गतिविधि ह्वात्तै बढेको छ । केपी ओली प्रधानमन्त्री भएका बेला पनि यसरी नै चिनियाँ गतिविधि बढेको थियो ।

बीचको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अलि कम भएको थियो । पाँच महिनायता चिनियाँ नेताहरू नेपाल भ्रमणमा आएको आयै छन् । पछिल्लो समय चीनले नेपालमा महिनामा दुईवटा टोली भ्रमणमा पठाउने गरेको छ ।

भारत, अमेरिकालगायत देशको प्रभाव नबढोस् भन्दै चीनले सानादेखि ठूला नेतासम्म नेपाल पठाउने गरेको छ । महिनामा दुईवटासम्म चिनियाँ टोली आउँदा अरु देशलाई गतिविधि गर्न अप्ठेरो परोस् भन्ने बुझाई चीनको देखिएको छ ।
सोही कारण चीनले अघोषित रूपमा नेपालमा राजनीतिक हस्तक्षेप गरिरहेको बुझाई कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् ।

नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन उडेको भोलिपल्टै बुधबार चिनियाँ सेनाको एक टोली नेपाल आएकाे थियाे । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आएको थियाे।

चिनियाँ सेनाको उक्त टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका थिए। चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मालगायत विभिन्न नेताहरूसँग भेटवार्ता गरेक थिए ।

टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेटेका थिए । दुई साताअघि मात्रै उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएर फर्केको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार