एजेन्सी । चीन लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको इन्जिनका रूपमा थियो। तर हालैका हप्ताहरूमा मन्दीले अन्तर्राष्ट्रिय जगतका ठूला लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ। दशकौँपछि पहिलो पटक विश्वको दोस्रो अर्थतन्त्र रहेको चीन आफैँ समस्या परेको छ।
हङकङको हङसेङ सूचकांक जनवरीको उच्च विन्दुबाट २० प्रतिशतभन्दा बढीले ओरालो लाग्दै शुक्रबार बियर मार्केटमा प्रवेश गरेको छ। गत हप्ता चिनियाँ युआन पछिल्लो १६ वर्षयताकै सबैभन्दा कम विन्दुमा झरेको छ। यो चिनियाँ केन्द्रीय बैंकले अनुमान गरेको बजार मूल्यभन्दा अनपेक्षित थियो। चिनियाँ मुद्रा डलरका तुलनामा विनिमयमा निकै कमजोर भएको छ।
यस वर्षको सुरुमा कोभिडका कारण भएको लकडाउनहरू हटाइएपछि आर्थिक गतिविधि बढेको थियो। सुरुवातको त्यो तीव्र वृद्धिको क्रम अहिले सुस्ताएको छ। उपभोक्ता मूल्यहरू घट्दै छ भने निर्यातमा मन्दी छाएको छ। यससँगै घरजग्गा कारोबारमाथिको संकट पनि गहिरिएको छ। युवामा बेरोजगारी बढ्दै गएपछि सरकारले तथ्यांकसमेत सार्वजनिक गर्न बन्द गरेको छ।
यसबिचमा एक प्रमुख हाउजिङ निर्माणकर्ता तथा लगानी कम्पनीले हालैका हप्ताहरूमा आफ्ना लगानीकर्ताहरूलाई भुक्तानी गर्न सकेन। यसले पनि बिग्रँदो अवस्थालाई इंगित गर्छ। हाउजिङ बजारको निरन्तर गिरावटले वित्तीय स्थिरतामा उच्च जोखिम निम्त्याउन सक्ने जोखिमलाई पुन: जगाउँदै गएको छ।
घरेलु मागलाई उत्प्रेरित गर्न कडा र दृढ उपायहरूको अभाव र कोभिड सङ्क्रमणको डरले ‘ग्रोथ डाउन ग्रेड’को नयाँ चरण सुरु गर्यो। धेरै प्रमुख लगानी बैंकहरूले चीनको आर्थिक वृद्धिको पूर्वानुमानलाई ५ प्रतिशतभन्दा कममा सीमित गरे।
‘हामीले चीनको वास्तविक जीडीपी वृद्धि प्रक्षेपणलाई डाउनग्रेड गरेका छौँ। घरजग्गाको कारोबारमा गिरावट आएसँगै बाह्य माग अझ कमजोर भएको छ। साथै यसका लागि ल्याइएका नीति समर्थन अपेक्षा गरेभन्दा कम छ,’ यूबीएस विश्लेषकहरूले सोमबार एउटा अनुसन्धानको नोटमा लेखेका छन्।
नोमुरा, मोर्गन स्टेनली र बार्कलेजका अन्वेषकहरूले पहिले नै यसको पूर्वानुमान गरेका थिए।
यसको मतलब चीनले आफ्नो आधिकारिक वृद्धि लक्ष्य लगभग ५.५ प्रतिशतसम्म गुमाउन सक्छ। जुन राष्ट्रपति सी चिनफिङ नेतृत्वको चिनियाँ सरकारका लागि लाजमर्दो पनि हुने विज्ञको विश्लेषण छ।
यो सन् २००८ को विश्वव्यापी वित्तीय मन्दीभन्दा धेरै भयानक हुन सक्छ। चीनले त्यतिबेला विश्वको सबैभन्दा ठूलो प्रोत्साहन प्याकेज सुरु गरेको थियो भने संकटको सामना गर्ने पहिलो प्रमुख अर्थतन्त्र बनेको थियो। अहिले महामारीको प्रारम्भिक दिनहरूभन्दा ठिक उल्टो अवस्था देखिएको छ। महामारीका बेला मन्दीको सामना गर्ने चीन एकमात्र प्रमुख विकसित अर्थतन्त्र थियो। कसरी बिग्रियो त अवस्था?
ऋण डिफल्टले घर जग्गा कारोबार संकटमा
यस वर्षको बलियो सुरुवातको गति फिक्का हुँदै जाँदा चीनको अर्थतन्त्र अप्रिलदेखि नै मन्दीमा छ। तर यस महिना सम्पत्ति बिक्रीको हिसाबले कुनै समय देशको सबैभन्दा ठूलो निर्माणकर्ता रहेको ‘कन्ट्री गार्डेन’ र शीर्ष ट्रस्ट कम्पनी ‘झोङ्ग्रोङ ट्रस्ट’को ‘डिफल्ट’पछि चिन्ता बढेको छ।
कन्ट्री गार्डेनले दुई अमेरिकी डलर बन्डहरूमा ब्याज भुक्तानी नगरेको रिपोर्टले लगानीकर्ताहरूलाई भयभीत पारेको छ भने ‘एभरग्रान्डे’को ऋण डिफल्टका सम्झनाहरुलाई पनि पुनर्ताजगी गरेको छ। २०२१ मा एभरग्रान्डेको ऋण डिफल्टपछि घर जग्गा संकट सुरु भएको थियो।
एभरग्रान्डे हालसम्म पनि ऋण पुनर्संरचनामा गइरहँदा कन्ट्री गार्डनमा देखिएका समस्याले चिनियाँ अर्थतन्त्रको बारेमा नयाँ चिन्ताहरू खडा गरेको छ।
त्यही समस्याले गर्दा एभरग्रान्ड अझै पनि ऋणको पुनर्संरचनाबाट गुज्रिरहेको छ। कन्ट्री गार्डनमा देखिएको समस्याहरूले चिनियाँ अर्थतन्त्रको बारेमा नयाँ चिन्ताहरू खडा गरेको छ।
बेइजिङले घरजग्गा बजारलाई पुनर्जीवित पार्न सहयोगी उपायहरू ल्याएको छ। तर व्यापारका बलिया खेलाडीहरूले पनि ‘डिफल्ट’को संघारमा अहिले सन्तुलन गुमाएका छन्। यसले संकटलाई नियन्त्रण गर्न बेइजिङले सामना गर्ने चुनौतीहरूलाई बढावा दिइरहेको छ।
यस बीचमा प्रपर्टी विकासकर्ताहरूको ऋण डिफल्ट चीनको २९ खर्ब डलरको लगानी ट्रस्ट उद्योगमा फैलिएको देखिन्छ।
यस महिनाको सुरुमा कर्पोरेट क्लाइन्ट र धनी व्यक्तिहरूको ८७ अर्ब डलर बराबरको कोष व्यवस्थापन गर्ने झोङ्ग्रोङ ट्रस्टले कम्तीमा चार कम्पनीहरूलाई लगानीको मुनाफा दिन सकेन। जुन करिब १९ करोड डलर बरार रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ।
आक्रोशित लगानीकर्ताहरूले हालसालै ट्रस्ट कम्पनीको कार्यालय बाहिर उच्च उत्पादन भएका वस्तुहरूमा भुक्तानीको माग गर्दै विरोध प्रदर्शन समेत गरेका थिए।
क्यापिटल इकोनोमिक्सस्थित चाइना इकोनोमिक्सका प्रमुख जुलियन इभान्स-प्रिचार्डले भने, ‘सम्पत्ति क्षेत्रको थप घाटाले व्यापक वित्तीय अस्थिरता फैलिने जोखिम छ। सरकारी ऋणपत्र र बैंक निक्षेपहरूको सुरक्षामा घरेलु कोषहरू बढ्दै गए धेरै गैर-बैंक वित्तीय संस्थाहरूले तरलताको सामना गर्ने देखिएको छ।’
स्थानीय सरकारको ऋण चिन्ताको विषय बन्दै
अर्को प्रमुख चिन्ताको विषय भनेको स्थानीय सरकारको ऋण हो, जुन घरजग्गा बिक्रीमा गिरावट आउँदा ठूलो मात्रमा घटेको राजस्वका कारण बढेको छ। साथै महामारीको लकडाउन लागू गर्दा बढेको लागतको सुस्त असर पनि यसमा देखिन थालेको छ।
स्थानीय तहमा देखिएको गम्भीर वित्तीय तनावले चिनियाँ बैंकहरूलाई ठूलो जोखिममा पार्ने मात्रै नभई सार्वजनिक सेवा विस्तार गर्ने सरकारको क्षमतालाई पनि खुम्च्याउँछ।
बेइजिङले हालसम्म ब्याजदर कटौती र घरजग्गा बजार तथा उपभोक्ता व्यवसायहरूलाई प्रवर्द्धन गर्ने लगायतका अर्थव्यवस्थालाई बढावा दिने उपायहरू अघि सारेको छ। तर महत्वपूर्ण निर्णय गर्नबाट भने बेइजिङ अनकनाएको देखिन्छ।
अर्थशास्त्री र विश्लेषकहरूले १५ वर्षअघिको विश्वव्यापी वित्तीय संकटको समयमा जस्तै अर्थतन्त्रलाई उकास्नका लागि अहिले चीन निकै ठूलो ऋणमा डुबेको बताएका छन्।
त्यसबेला, चिनियाँ नेताहरूले विश्वव्यापी वित्तीय संकटको प्रभावलाई कम गर्न ४० खर्ब युआन (अर्थात ५८६ अर्ब डलर) वित्तीय प्याकेज ल्याएका थिए। तर सरकारको नेतृत्वमा पूर्वाधार परियोजनाहरूमा केन्द्रित भएका उपायहरूले पनि अभूतपूर्व कर्जा विस्तार र स्थानीय सरकारको ऋणमा ठूलो वृद्धि निम्त्यायो, जसबाट अर्थतन्त्र अझै रिकभर गर्न संघर्ष गरिरहेको छ।
‘हालको मन्दीमा एक चक्रीय तत्व पनि छ जसले ठूलो उत्तेजनालाई औचित्य दिन्छ। नीति निर्माताहरू चिन्तित देखिन्छन्। उनीहरूको परम्परागत नीति प्लेबुकले ऋणको स्तरमा थप वृद्धि ल्याउनेछ जुन भविष्यमा उनीहरूलाई संकटमा धकेल्न मद्दत गर्नेछ,’ इभान्स-प्रिचार्डले भने।
बेइजिङ नीति निर्माताहरूले उनीहरूको शीर्ष प्राथमिकताहरूमध्ये एकमा स्थानीय सरकारहरूमा प्रणालीगत ऋण जोखिमहरू समावेश गर्नु हो भनेर पुन: पुष्टि गरेका छन्। पिपुल्स बैंक अफ चाइना, वित्तीय नियामक र धितोपत्र नियामकले संयुक्त रूपमा यस चुनौतीको सामना गर्न सँगै काम गर्ने वाचा गरेको केन्द्रीय बैंकको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
जनसांख्यिकीय गिरावट
चीनले केही दीर्घकालीन चुनौतिहरूको सामना गरिरहेको छ। जसमा जनसंख्या संकट र अमेरिका तथा युरोप जस्ता प्रमुख व्यापारिक साझेदारहरूसँग तनावपूर्ण सम्बन्ध लगायत छन्।
सरकारी स्वामित्वको जेइमियन डट कमको पछिल्लो रिपोर्टमा चीनको कुल प्रजनन दर गत वर्ष १.०९ को कीर्तिमानी न्यून विन्दुमा झरेको छ, जुन दुई वर्षअघि १.३० थियो।
यसको अर्थ चीनको प्रजनन दर अब लामो समयदेखि बुढ्यौली समाजको रुपमा परिचित जापानको भन्दा पनि कम छ।
यस वर्षको सुरुमा चीनले सार्वजनिक गरेको तथ्यांकमा जनसंख्या गत वर्ष ६ दशकमा पहिलो पटक घट्न थालेको उल्लेख गरिएको थियो।
‘चीनको बुढ्यौली जनसांख्यिकीले यसको आर्थिक वृद्धि सम्भाव्यतामा महत्वपूर्ण चुनौतिहरू प्रस्तुत गरेको छ,’ मूडीज इन्भेस्टर्स सर्भिसका विश्लेषकहरूले गत हप्ता एउटा अनुसन्धान प्रतिवेदनमा भनेका छन्।
श्रम आपूर्तिको गिरावट र स्वास्थ्य सेवा तथा सामाजिक खर्चमा हुने वृद्धिले वित्तीय घाटा र ऋणको बोझ उच्च बनाउनेछ। सानो जनशक्तिले घरेलु बचतमा पनि ठूलो योगदान गर्न सक्दैन। जसले ब्याज दरलाई उच्च बनाउने छ भने लगानी घटाउन पनि भूमिका खेल्नेछ।
‘घरजग्गाको माग दीर्घकालीन रूपमा घट्नेछ,’ विश्लेषकहरूले भनेका छन्। जनसांख्यिकीसहित ग्रामीण इलाकाबाट सहरी क्षेत्रहरूको सुस्त बसाइँसराइ र भूराजनीतिक द्वन्द्व यस्तो एउटा संरचनात्मक प्रकृति हो जुन धेरै हदसम्म नीति निर्माताहरूको नियन्त्रण बाहिर रहेको इभान्स-प्रिचार्डले बताए।