काठमाडौं । म्यानमारमा आधारित साइबर स्क्याम अथवा ठगीमा संलग्न २०० भन्दा बढी संदिग्धहरूलाई चिनियाँ प्रहरीसँगको सहकार्यमा पक्राउ गरिएको छ ।
चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले मंगलबार दुवै देशबीचको सबैभन्दा ठूलो संयुक्त कारबाहीमा साइबर ठगहरुलाई पक्राउ गरिएको बताएको हो ।
उत्तरी म्यानमारमा रहेका ११ वटा साइबर ठगीका अड्डा वा केन्द्रबाट २६९ जनालाई पक्राउ गरिएको छ । तीमध्ये १८६ चिनियाँ नागरिक भएको बताइएको छ।
पक्राउ पर्नेमध्ये २१ जनाले एक करोड ६५ लाख अमेरिकी डलर बराबरको ठगीमा मुख्य भूमिका खेलेको बताइएको छ ।
म्यानमारको स्थानीय सार्वजनिक सुरक्षा बल र चीनको युनान प्रान्तको सिशुआंगबन्ना दाइ स्वायत्त क्षेत्रको प्रहरीले सीमापार कानुन प्रवर्तन संयन्त्रमार्फत आइतबार अपरेसन चलाएको थियो ।
म्यानमारमा आधारित गिरोहलाई उखेल्ने चीनको प्रयासमा यो पछिल्लो यो अपरेसन हो । म्यानमारबाट खास गरी चिनियाँ नागरिक बारम्बार ठगीको निशानामा पर्ने गरेको बताइन्छ ।
यो गिरोहले अन्य मानिसहरुलाई लगानीको योजना, प्रेम वा रोजगारीको प्रलोभनमा पारेर त्यहाँ बाोलाएर फोन अपरेटर, कम्प्युटर प्रोग्रामर र अन्य काममा लगाएर ठगी गर्ने गरेको बताइएको छ ।
गत महिना चीनले म्यानमार, थाइल्यान्ड र लाओससँग सहकार्य गरेर साइबर अपराध नियन्त्रण गर्ने प्रतिवद्धता गरेको थियो ।