भारत सरकारद्वारा निर्मित संखुवासभाको हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको सहयोगमा निर्मित संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पस भवनको उद्घाटन गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा भवनको उद्घाटन गरेका हुन्।

नेपाल-भारत विकास सहयोगअन्तर्गत ३.७४ करोडको लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा क्याम्पसको भवन निर्माण गरिएको हो। नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल रहेका छन्।

परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्‍याएको र भारतजस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताए। उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरूको करियरमा सहयोग पुर्‍याउने बताए।

त्यस्तै राजदूत श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए। ‘यो सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको छ,’ उनले भने। उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप यो विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको पनि बताए।

सन् १९४९ मा स्थापना भएको उक्त क्याम्पस सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखिएको थियो। यस क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा ६० प्रतिशत छात्रा रहेका छन्।

हाल यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ । स्थापनाकालदेखि नै यस क्याम्पसले गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसर पारेर हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकको छ ।

भारत सरकारले हालसम्म संखुवासभा जिल्लालाई १३ वटा एम्बुलेन्स र गत जुलाईमा यस क्याम्पसलाई प्राप्त स्कुलबस समेत गरी ३ वटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्न नेपाल सरकारले गरेको प्रयासमा थप बल प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार