ब्रेक सु र भेपमा सुन ल्याएको अभियोगमा फरार गिरोह उत्तरी नाकाबाट सुन तस्करीमा सक्रिय

काठमाडौं । हङकङबाट हवाईमार्ग हुँदै ‘ब्रेक सु’ र विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन ल्याउने गिरोहकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट तस्करीको सुन आइरहेको पाइएको छ । त्रिभुवन विमानस्थल हुँदै तस्करीको आरोपमा फरार गिरोहका सदस्य नै दोलखा, रसुवाबाट सुन तस्करीमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

६१ किलो सुन तस्करीमा चिनियाँ नागरिक दावाजिन वाङसहितका अभियुक्त फरार छन्, यद्यपि यो मुद्दाको अनुसन्धान सकिएर मुद्दा अदालत पुगिसकेको छ । पूर्वसभामुख कृष्णबहादुर महरासहित माओवादी नेताका परिवारसँग निकट सम्बन्ध बनाएका सुन तस्करीका अभियुक्त दावा छिरिङ तथा थप ८ विदेशी हाल थुनामा छन् । तर, यो गिरोहकै १५ जना फरार छन् । फरार व्यक्तिकै योजनामा दोलखा र रसुवाका चिनियाँ नाकाबाट सुन ल्याउने गरेको पछिल्लो अनुसन्धानले देखाएको हो ।

‘पहिलो चरणको अनुसन्धान सकाएर अदालतमा पुगेको मुद्दा र अनुसन्धानका क्रममा रहेको विषयसँग दोलखा र रसुवाबाट भित्रिएको सुन एउटै समूहको भएको आधार देखिएको छ । अदालत पुगेको मुद्दासँग सम्बन्धित सुनजस्तै हालै बरामद सुन बौद्ध र ठमेल क्षेत्र जाने क्रममा थियो,’ सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भनिन् ।

‘विमानस्थलबाट हुने नेटवर्क भत्किएपछि चिनियाँ तस्करले हिउँ पग्लेको मौका छोपेर उत्तरतर्फका विकट नाकालाई छानेको हुन सक्छ,’ उनले भनिन् ।

भेप र ब्रेक सुमा लुकाएर ल्याएको सुन तस्करी प्रकरणको किनारा नलाग्दै डेढ महिनायता रसुवाबाट ३ किलो र दोलखाबाट ७ किलो सुन बरामद भएको छ । पक्राउ परेका केही भरियाले यसअघि पनि पटक–पटक यी नाकाबाट चिनियाँ तस्करले सुन ल्याएको बयान प्रहरीलाई दिएका छन् ।

दोलखा र रसुवाबाट बरामद सुन पनि ठमेल र बौद्धमा लैजाने गरी चिनियाँ तस्करले भरियालाई जिम्मा दिएको पाइएको छ । सीआईबीको टोलीले शनिबार रसुवाको बेत्रावती पुलबाट १ किलो सुनसहित रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमाछोदिङका विशाल तामाङलाई पक्राउ गरेको छ ।

बुधबार दोलखा प्रहरीले चिनियाँ नाका रोङजिया हुँदै भित्र्याइएको ४ किलो सुनसहित बिगु गाउँपालिका–१, लामाबगरका केशर तामाङ, पेम्बा तामाङ, माधव मगर, नुर्वछिरिङ शेर्पा र सुनमाला तामाङलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै सीआईबीले रोङजिया नाकाबाटै भित्रिएको थप ३ किलो सुन बरामद गर्‍यो । पक्राउ परेकामध्ये पेम्बाले आफूलाई चिनियाँ व्यक्तिले सुन दिएको खुलाएका छन् । अनुसन्धानकर्मीका अनुसार ती चिनियाँ यसअघिकै सुन तस्करीमा प्रहरी खोजी सूचीमा रहेका व्यक्ति हुन् ।

रोङजियासम्म सुन ल्याएका चिनियाँले पेम्बा र माधवलाई हस्तान्तरण गरेका थिए । त्यसपछि सुन काठमाडौंसम्म लैजान केशर तामाङले जिम्मा लिएका थिए । काठमाडौंसम्म सुन लैजाने जिम्मा नुर्वछिरिङ र सुनमालालाई दिइएको थियो । यो सबै सेटिङ चिनियाँ गिरोहको योजनामा गरिएको खुलेको छ ।

भदौ ३ मा रसुवा प्रहरीले टिमुरेबाट स्याफ्रुबेंसी आउँदै गर्दा सिन्धुपाल्चोक भोटेकोशीका सुदीप शेर्पालाई पक्राउ गरेको थियो । शेर्पाले उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी घर भई रसुवा टिमुरे बस्दै आएका फुसाङ शेर्पालाई दिएको बयान दिएका थिए । रसुवा र दोलखाका नाकाबाट भएका तस्करीको सुन ठमेल र बौद्धमा रहेको अर्को गिरोहलाई दिने तयारी रहेको पाइएको छ ।

पूर्वसभामुख महराको परिवारसँग निकट तस्कर दावाजिन वाङकै सेटिङमा २०७६ वैशाख १० मा भित्रिएको ७ किलो सुन स्याउ बोकेको ट्रकबाट बरामद भएको थियो । दावाजिन आफूलाई फलफूल व्यापारीका रूपमा चिनाउँदै आएका थिए । सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका–१, रसुवा यार्साका शेरग्याल्पो घलेलाई प्रहरीले पक्राउ गरे पनि त्यसभन्दा माथि अनुसन्धान जानै पाएन । सुन व्यवस्थापनमा खटिएका दावाजिन र हाल पक्राउ परेका दावा छिरिङको समूह जोडिएको तर त्यसमा कुनै अनुसन्धान नै नभएको प्रहरी अधिकारीहरू बताउँछन् । दावाजिन र उनको समूहसँग तस्करीको सुन छुटाउनेबारे मोबाइल सम्पर्क गरेको भेटिएपछि महराका छोरा राहुल पक्राउ परेका थिए । स्रोतका अनुसार दावाजिन गत वैशाख १५ मा काठमाडौंबाट भागेर चीन पुगेका थिए । उतैबाट फेरि लट–लटमा उनीसहितको समूहले सुन पठाउने गरेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीको भनाइ छ । ब्रेक सुमा भित्रिएको सुनको अनुसन्धान चलिरहेका बेला दावाजिनले काठमाडौंमा रहेका केही भरियासँग सुन पास गराउनेबारे गरेको संवाद यसअघि कान्तिपुरले बाहिर ल्याएको थियो ।

चीनतर्फका कतिपय नाका वैशाखदेखि असोज–कात्तिकसम्म सहज रूपमा मानव आउजाउ गर्न मिल्छ । मंसिरदेखि चैतसम्म हिपपात हुने सिजन भएकाले नाका छिचोलेर आउजाउ गर्न कठिन हुने भएकाले तस्करले हिउँ पग्लेको मौकामा सुन तस्करी गर्ने गरेको देखिन्छ । पछिल्लो पटक दोलखाबाट बरामद सुन प्रकरणले त्यसलाई पुष्टि गरेको हो । रसुवा–केरुङ र तातोपानी नाका भने बाह्रै महिना मानिस आउजाउ गर्न मिल्ने औपचारिक नाका हुन् । हिल्सा, टिंकर, कोरला, किमाथांकालगायत नाका पनि अपवादबाहेक सहजै आउजाउ गर्न मिल्छ । तर, सुरक्षा निकाय र अन्य सरकारी संयन्त्रको पहुँच नभएका नाकालाई सुन तस्करीमा प्रयोग गर्ने गरेको देखिन्छ ।

गत असार २९ मा ब्रेक सुमा लुकाएर हङकङबाट भित्र्याएको करिब ६१ किलो सुन साउन २ मा भन्सार जाँचपास गरेर सिनामंगल सडक पुगेको अवस्थामा बरामद भएको थियो । त्यसको अनुसन्धानबाट खुलेका प्रमाणका आधारमा ९ जना विदेशीसहित २९ विरुद्ध असोज १ मा करिब साढे ३ अर्ब रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको छ । त्यसअघि २०७९ पुस १० मा दुबईबाट भेपमा लुकाएर ल्याएको ९ किलो सुन प्रकरणको अनुसन्धान पनि सीआईबीमा जारी छ । भेपमा लुकाएर ल्याएको सुन प्रकरणमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल अनुसन्धानका लागि सीआईबीको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार