दोलखामा सुन बरामद प्रकरण: चिनियाँ नागरिकसहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । पछिल्लो समय चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना चिनियाँ नागरिक र २ जना नेपाली नागरिक छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो। सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले तासी भनिने चिनियाँ नागरिक ग्याङ रोउ तथा नेपाली नागरिकहरु लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान पक्राउ परेको बताए।

पछिल्लो समय दोलखाको विभिन्न ठाउँबाट ठूलो परिमाणमा सुन बरामद हुँदै आएको छ। आइतबार दिउँसो मात्रै प्रहरीले विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा ४ किलो सुन बरामद गरेको थियो।

एक साताको अवधिमा दोलखाबाट प्रहरीले ११ किलो बरामद गरेको छ। सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै २ जनालाई पक्राउ गरेको थियो। दोलखाको विगु गाउँपालिका–१ लामाबगरकाका ३० वर्षीय चसमान तामाङ र सोही ठाउँका २७ वर्षीय राज तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार चीनसँग जोडिएको दोलखाको फलेक नाका हुँदै सुन तस्करी बढेको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको तस्करी विमानस्थलमा भएको कडाइले ‘ब्रेक’ भएपछि चीनको रोङजिया नाकाबाट दोलखाको फलेक हुँदै तस्करी बढेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार