वाशिङ्टन डीसी । बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाले तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार उइग्युर समुदायका मानिसहरुलाई बँधुवा मजदुरको रुपमा प्रयोग गरी सामान उत्पादन गरेको भन्दै अमेरिकाले तीन वटा चिनियाँ कम्पनीले उत्पादन गर्ने वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको हो ।
अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टका प्रमुख अलेहान्द्रो मायोर्कासले नाफा कमाउने उद्देश्यका लागि मानव अधिकारको उल्लङ्घन गर्दै बँधुवा मजदुरको प्रयोग गर्ने कम्पनी आफूहरुलाई सह्य नहुने टिप्पणी गरेका छन् ।
यससँगै बँधुवा मजदुरविरुद्ध अमेरिकी प्रतिबन्धमा परेका कम्पनीको सङ्ख्या २७ पुगेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । यसअघि एक महिनाअघि अमेरिकाले अन्य दुई कम्पनीमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो ।
अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले पश्चिमी सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर, कजाख, किर्गिजजस्ता तुर्केली मूलका अल्पसङ्ख्यक मुसलमान समुदायका मानिसहरुलाई चीनले श्रम शिविरमा बन्धक बनाउने गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकी गुप्तचर संस्थाहरुले सिन्जियाङमा रहेर काम गर्दै आएका तीन कम्पनीले मुसलमान अल्पसङ्ख्यकमाथि दमन गर्न चीन सरकारलाई सहयोग गरेको बताउँदै आएका छन् ।