चिनियाँ ठेकेदारको ट्रयापमा पोखरा-मुग्लिन र नारायणगढ- बुटवल सडक

काठमाडौं । चिनियाँ निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ- बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो।

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा गत बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको बताइसकेका छन्। यो दुबै सडकको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो।

‘पोखरा-मुग्लिन सडकखण्डको पूर्वतिर काम भएको छ। पश्चिमतर्फको त्यति काम हुन सकेन। सायद अब त्यहाँ ठेक्का सम्झौता तोड्नुपर्ने हुन सक्छ। त्यसको लागि तयारी भइरहेको छ,’ उनले भने।

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम भइरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा ८ प्रतिशत प्रगति भएको छ। यो खण्डमा काम सुस्त छ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद २०८१ भदौसम्म छ।

भौतिक मन्त्रालयका वैदेशिक महाशाखाका सहसचिव अर्जुनजंग थापाले पनि पोखरा- मुग्लिन सडक विस्तारको पश्चिम प्याकेजको ठेक्का तोड्ने तयारी भएको बताए। ‘कामै नगर्ने निर्माण कम्पनीको ठेक्का तोडिने छ,’ उनले भने।

उनका अनुसार निर्माण कम्पनीलाई यसअघि नै मन्त्रालयले चेतावनी दिइसकेको छ। यसरी चेतावनी दिएपछि निर्माण कम्पनीले उपकरण केरुङ नाकामा ल्याइसकेको फोटो पठाउन थालेको उनले बताए। तर ती उपकरण नेपाली सर्भरभित्र आइसकेका छैनन्।

‘मन्त्रालयले यो खण्डको निर्माण कार्यमा निर्माण कम्पनीले अटेर गरेर काम नगरेको देखिएको छ,’ उनले भने, ‘निर्माण स्थलमा आवश्यक उपकरण समेत अहिलेसम्म ल्याइएको छैन। त्यसैले यो खण्ड निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीसँग ठेक्का तोड्न लागिएको हो।’

थापाका अनुसार दुई वर्षमा कम्पनीको काम शून्यजस्तै रहेको र खाल्डखुल्डी समेत मर्मत गरेको छैन।

थापाका अनुसार पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ।

पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।

एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको थियो।

यसैगरी नारायणगढ-बुटवल सडक विस्तारको सुरुवाती ठेक्का सम्झौता अनुसार साउनमा सडक विस्तारको काम सकिनुपर्थ्यो। तर समयमै काम नसकिएपछि दोस्रो पटक एक वर्षका लागि म्याद थप गरिएको थियो।

पश्चिम खण्डको म्याद साउन २१ गते सकिएपछि ३५० दिन म्याद थप गरिएको हो। त्यही अनुसार यो खण्डको निर्माणले राम्रो प्रगति गरिरहेको थापा बताउँछन्। पूर्वी खण्डको म्याद भदौ ११ मा सकिएको छ। पूर्वी खण्ड (गैँडाकोट- दाउन्ने) को म्याद ३३० दिन थप्ने योजना तय भएको थियो। तर कामै नगरेपछि ठेक्का तोड्ने निष्कर्षमा मन्त्रालय पुगेको हो।

यो सडक विस्तारको पूर्वी खण्डमा ३९.६६ र पश्चिम खण्डमा ३६.३७ प्रतिशत काम सकिएको छ। निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले परामर्शदाताको आडमा म्याद थप्ने लबिङमा लागिरहेको छ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनसँग गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो।

एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार सुरु भएको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ। दुई वटा प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट- दाउन्ने सडकखण्डमा पर्ने ६५ किलोमिटर खण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ छ। यसैगरी दाउन्ने- बुटवल खण्डमा पर्ने ४९ किलोमिटर खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ। साभार विजमान्डुबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार