चीनकाे नेसनल होलिडेमा पनि बढ्न सकेन चिनियाँ पर्यटक

काठमाडाैं । पर्यटक आगमन दर सन् २०१९ कै हाराहारीमा पुगिसक्दा पनि चिनियाँ पर्यटकको आगमन दर भने अझै बढ्न सकेको छैन। पर्यटक आगमन संख्याको हिसाबले भारतपछि दोस्रो ठूलो स्रोत बजारको रुपमा चीन अगाडि आए पनि अझै २०१९ को हाराहारीमा चिनियाँ पर्यटक आएका छैनन।

सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार पर्यटकले नेपाल भ्रमण गरेकोमा २८ हजार ६ सय ९४ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् भने दोस्रो स्रोत राष्ट्र नै भए पनि चीनबाट सेप्टेम्बरमा ८ हजार १ सय ७४ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारतबाट झन्डै साढे ३१ प्रतिशत पर्यटक नेपाल भ्रमणमा आउँदा चीनबाट भने झन्डै ९ प्रतिशत मात्रै पर्यटकले नेपाल भ्रमण गरेका छन्।

चीनमा लामो समय बिदाको रुपमा अक्टोबर १ देखि ८ सम्मको नेसनल होलिडे र फेब्रुअरीतिर पर्ने चिनियाँ नयाँ वर्षलाई लिने गरिन्छ। धेरै चिनियाँहरु यी दुई लामो बिदाको समय सदुपयोग गर्ने हेतुले विदेश भ्रमणमा निस्किने गर्दछन्। सन् २०२० मा कोरोना भाइरसको संक्रमण बढेपछि अन्य देशबाट आउने पर्यटकजस्तै चिनियाँ पर्यटक पनि झन्डै शुन्यकै अवस्थामा पुग्यो। अहिले मासिक कुल पर्यटक आगमनलाई हेर्दा भने नेपालको पर्यटन करिब करिब सन् २०१९ कै हाराहारीमा पुगिसकेको छ। तथ्यांक नै हेर्ने हो भने पनि सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६ सय ४ पर्यटक नेपाल भ्रमणमा आएका थिए भने सन् २०२३ को सेप्टेम्बरमा भने ९१ हजार १२ जना पर्यटक नेपालमा आएका छन्। यो तथ्यांकलाई सन् २०१९ को सेप्टेम्बरसँग तुलनामा गर्दा ९८.२८ प्रतिशत हुन आउँछ।

लामो समयदेखि चिनियाँ पर्यटकहरुको पथ प्रदर्शकको रुपमा काम गरेर अहिले ट्राभलरुटर इन्टरनेसनल नामक ट्राभल एजेन्सी चलाइरहेका अच्युत सिग्देलले अमेरिका र युरोपेली मुलुकबाट आउने पर्यटक आगमन पुरानै लयमा फर्के पनि चिनियाँ पर्यटकहरु अझै पनि पुरानै लयमा फर्किनसकेको बताए। चिनियाँ नेसनल होलिडेमा चिनियाँ पर्यटकसँगै चितवन, काठमाडौं, नगरकोट घुमेका उनले सन् २०१९ मा जस्तो चिनियाँ पर्यटकको बाक्लो उपस्थिति पर्यटकीयस्थलहरुमा नदेखेको बताए। उनका अनुसार नेपाल चीनबीचको उडान संख्या कोभिड अगाडिकै अवस्थामा आइसकेपनि उडान शुल्क महंगो हुनु र विश्वव्यापी मन्दी अर्को कारण हुन सक्ने उनले बताए।

नेपाल टुर एन्ड ट्राभल एसोसियन (नाट्टा)का पूर्व अध्यक्ष अच्युत गुरागाइँले यस वर्षको अक्टोबरमा अपेक्षा गरे अनुसार चिनियाँ पर्यटकहरु नआएको बताए। सन् २०१९ को अक्टोबरमा १८–१९ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएको रेकर्ड भए पनि यस वर्ष त्यस्तो चाप नदेखिएको बताए।

चीनको आर्थिक अवस्था अझै मजबुत नबनिसकेको, हवाई कनेक्टिभिटी कमजोर रहनु, चिनियाँ आउट बाउन्ड पर्यटन अझै लयमा नआउनु र नेपाली पर्यटन व्यवसायीले चीनमा पर्याप्त विज्ञापन नगर्नुको परिणाम स्वरुप चिनियाँ पर्यटक बढ्न नसकेको उनले बताए। ‘नेपाल र चीनबीचको हवाई उडान कनेक्टिभिटि पनि कमजोर नै छ। अहिलेसम्म चीन नेपाल उडान गर्ने भनेको चिनियाँ एयरलायन्सहरु मात्रै छन्। नेपाल एयरलाइन्सले उडान गर्न सकेको छैन। नेपालको लगानी भएको हिमालय एयरलाइन्स चाँहि नाफा धेरै भएको सेक्टरमा मात्रै उडान केन्द्रित गरेको छ। मुख्य विषय भनेको केनेक्टिभिटिकै हो। यसकै समस्याले गर्दा जति आउनुपर्ने हो आएको छैन।’–उनले भने।

चिनियाँ पर्यटकलाई चिनियाँ शैलीकै खाना उपलब्ध गराउने रोयल चाइना माउन्टेन रेष्टुरेन्टका सञ्चालक विकास थापाले यस वर्ष चिनियाँ नेसनल होलिडेमा चिनियाँ पर्यटकको आगमन सन्तोषजनक नदेखिएको बताए। ‘सन् २०१९ को अक्टोबर होलिडेमा दैनिक ३ सय जनासम्ममा खाना खुवाएका थियौं। यस वर्ष कुनै दिन मुश्किलले १ सय २० सम्म पुगेको होला।’–उनले भने।

२०२३ को सेप्टेम्बर महिनासम्म हवाई मार्गबाट ६ लाख ९२ हजार ३ सय ७२ पर्यटक नेपाल आएका छन्। कोरोनापछिको तुलनामा नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। तर, अपेक्षाअनुसार पर्यटक आगमन भने हुन सकेको छैन। नेपाल घुम्न आएका कुल पर्यटकमध्ये सेप्टेम्बरसम्म चीनबाट ३९ हजार १२ पर्यटक नेपाल आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार