चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी भइरहेकाे प्रहरी खुलासा

दोलखा । चिनियाँ नाका रोङजियाबाट एक वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा धेरै सुन रोङजियाबाट स्थलमार्ग हुँदै तस्करी भएको अनुसन्धानका क्रममा खुलेको हो । पछिल्लो समय यो नाकाबाट भित्रिएको ११ किलो सुन बरामद र ११ जना पक्राउ परेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो ।

चिनियाँ नागरिक टासी भनिने आगर लामाले रोङजियालाई सुन तस्करीको नयाँ रुट बनाएको पाइएको छ । सुन तस्करीमा संलग्न भरियाले यसअघि पनि पटकपटक रोङजियाबाट सुन बोकेको बयान दिएका छन् । प्रहरीले ११ किलो सुनका मुख्य मालिक लामा नेपालमा तिब्बती शरणार्थी बनेर सुन तस्करीमा संलग्न हुँदै आएको अनुसन्धानका क्रममा खुलेको जनाएको छ । नुर्बुछिरिङ शेर्पाको मध्यस्थकर्तामा उनले यो नाकाबाट यसअघि करिब ५० किलो सुन तस्करी गरिसकेको प्रहरी स्रोतले बतायो । उनीहरूसँगै चिनियाँ नागरिक ग्याङ रोउको संलग्नता पनि खुलेको छ । लामा चीनको सिचुवान प्रान्तका नागरिक हुन् ।

बिगु गाउँपालिका–३ जामुनेबाट असोज १० र १२ गते ७ किलो, बिगु–१ लामाबगरबाट असोज १४ मा ४ किलो गरेर ११ किलो सुन बरामद भएको थियो । लामासँग तिब्बती शरणार्थीको परिचयपत्र पनि रहेको प्रहरीले जनाएको छ । ‘फलाकबाट रोङजिया नाकाबाट लामाबगर हुँदै विगतदेखि नै सुन तस्करी भइरहेको अनुसन्धनमा खुलेको छ,’ डीएसपी दीपक खड्काले भने, ‘कति परिमाणमा कहिलेदेखि सुन तस्करले यो नाका प्रयोग गरे पूरै खुल्न बाँकी छ ।’ भरियाहरूले रोङजियाबाट पटकपटक सुन बोकेर आएको बयान दिएका छन् । मुख्य भरिया चसमान तामाङ र पेम्बा तामाङले रोङजिया पुगेर पटकपटक सुन बोकेर ल्याएको स्विकारेको डीएसपी खड्काले बताए । सुन लिन एक जना ४ पटक र अर्का भरिया ६ पटक पुगेको खुलेको प्रहरीले जनाएको छ । लामा र नेपालतर्फका मध्यस्थकर्ता नुर्बुछिरिङबीच तातोपानीमा भेट भएको र नुर्बुले फलाकबाट सुन भित्र्याउन सहज हुने बताएपछि लामाले उक्त नाका प्रयोग गर्न थालेको स्रोत बताउँछ ।

सुरुमा सानो परिमाणमा सुन तस्करी भए पनि पछिल्लो समय परिमाण बढाउँदै तस्करी भइरहेको हो । पछिल्लो पटक बरामद ११ किलो सुन हालसम्म उक्त नाकाबाट एकैपटक भित्रिएको सबैभन्दा बढी रहेको प्रहरीले जनाएको छ । मुख्य तस्कर आगरसहित नुर्बु, सुन बेच्न सहजीकरण गर्ने सिन्धुपाल्चोकका लालबहादुर तामाङ, सनद प्रधानसहित ११ जनामाथि ७ दिन म्याद थपेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र दोलखा प्रहरीले संयुक्त अनुसन्धान गरिरहेका छन् । चिनियाँ तस्करले काठमाडौंमा योजना बनाएर मध्यस्थकर्तालाई पनि लगानी गर्न लगाई स्थलमार्गबाट सुन तस्करी गरेको स्रोतले जनाएको छ ।

डोरीमार्फत पास हुन्थ्यो सुन
नेपाल–चीन सीमा छुट्याउने रोङजिया नाकाको रोङ्सी खोलापारिबाट डोरीमा बाँधेर नेपाली भरियालाई सुन पास गर्दै आएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘चिनियाँ तस्करले रोङजियासम्म सुन ल्याउने र डोरीमा खोला पार गराइदिने रहेछन्,’ डीएसपी

खड्काले भने, ‘नेपालबाट गएका भरियाले खोलाबाट डोरीमार्फत पास भएको सुन भित्र्याउने गरेका छन् ।’ तस्करले तिब्बतको सोक्टाबाट फलाक हुँदै रोङजियासम्म ल्याउने र यता भरियाको प्रयोग हुने गरेको हो । भरियाले रोङजिया पुगेर ल्याएको सुन लामाबगरबाट आलुको बोरामा प्याक गरेर काठमाडौं पठाउने गरेका थिए । सिंगटीमा ११ किलो सुन प्याक भएर आएको बोरा हराएपछि हल्लाखल्ला भएको थियो । बसबाट आलुको बोरा लिएर केशर तामाङले जामुनेको डेरामा सुन लुकाएको सुराकी पाएपछि प्रहरीले उनको डेराबाट ४ केजी सुन बरामद गरेको थियो । जामुनेबाटै ३ केजी र बारीमा ढुंगाले थिचेर राखेको अवस्थामा लामाबगरबाट थप ४ किलो बरामद भएको थियो ।

सुन तस्करीमा केशरको भूमिका शंकास्पद देखिएको प्रहरी स्रोतको भनाइ छ । उनीसँगै १७ वर्षका एक किशोर र माधव मगर पनि पक्राउ परेका छन् । सीमाबाट ल्याएको सुन काठमाडौं लैजान आएका नुर्बु र श्रीमती सुनमाला तामाङलाई प्रहरीले चरिकोटबाट पक्राउ गरेको थियो । सीमामा पुगेर सुन ल्याउने चसमान तामाङ केशरका जेठान हुन् भने पेम्बा तामाङ नुर्बुका साला हुन् । ‘नुर्बुले सुन लिन जानू भनेपछि पेम्बा र चसमान जंगलको बाटो हिँडेर रोङजिया पुगेका थिए,’ डीएसपी खड्काले भने, ‘यी दुईले सीमाबाट बग्ने खोलाबाट डोरीमा पास गरेको सुन बोकेर ल्याएको बताएका छन् ।’ लामाबगरबाट एक दिन पैदलमा पुगिने भएकाले स्थानीय भरिया प्रयोग गरेर सुन तस्करी भएको अनुसन्धानमा खुलेको छ ।

दोलखाको चीनसँग तीनवटा नाका जोडिएका छन् । तीमध्ये चीनसँग सीमा जोडिएको रोङजिया चीनको टिङ्ग्री काउन्टीमा पर्छ । यस्तै, लप्ची सीमा जोडिएको रान्मदुङ न्यालम काउन्टीमा पर्छ । यी दुवै नाका निकै पुरानो पैदलमार्गको व्यापारिक नाका हुन् ।

केरुङ नाका पनि सिगात्से जिल्लामा पर्ने यी दुई काउन्टीमध्ये टिङ्ग्रीमा पर्छ । तातोपानी नाका भने न्यालममा पर्छ । मध्य जेठबाट दोलखाको उत्तरी क्षेत्रका नाकामा हिउँ पग्लिएर आउजाउ गर्न सहज हुन्छ भने ५ महिना आउजाउ ठप्प हुन्छ । हिउँ पग्लिएपछि चिनियाँ तस्करले दुवैतर्फ प्रहरी प्रशासनको उपस्थिति नभएको रोङजिया नाका प्रयोग गरेको स्रोतले बतायो ।

कोरोनाका कारण चार वर्षदेखि बन्द चीनसँगको अर्को लप्ची नाकाबाट गत साता आउजाउ सहज बनाएपछि प्रहरीले निगरानी बढाएको छ । स्थानीयको सहजताका लागि लप्ची नाका अनौपचारिक खुला गरेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए । लप्ची र छुप्साङबाट सडकमार्ग प्रयोग गरी स्थानीय न्यालम काउन्टीको टासिघाङ बजारमा किनमेलका लागि गइरहेका छन् । उक्त नाकाबाट पनि चिनियाँ सुन तस्कर सक्रिय हुन सक्ने भन्दै निगरानी बढाइएको प्रजिअ धमलाले बताए । साभार कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार