भारतीय सहयोगमा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

काठमाडौं । काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो भवन हस्तान्तरण गरिएको हो।

भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौँ प्रमुख सन्तोष बुढाथोकीले आज (बुधबार) संयुक्त रूपमा उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

भारतले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौता अनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा निर्माण गरिएको हो। जिल्ला समन्वय समिति काठमाडौँले यस परियोजनाको कार्यान्वयन गरेको हो।

उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरूप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको बताए।

महेन्द्र राष्ट्रिय विद्यालयको स्थापना जागरुक शिक्षकहरुको संयुक्त प्रयासमा सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रुपमा भएको थियो । नेपाल सरकारले सन् १९७३ मा यस विद्यालयलाई प्राथमिक विद्यालयको रुपमा मान्यता दिएको थियो । सन् १९९५ मा निम्न माध्यमिक तहमा स्तरोन्नत भएको यो विद्यालय सन् २००० मा माध्यमिक तहमा र पछि गएर उच्च मध्यमिक तहमा स्तरोन्नत भएको हो । यस विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ५० प्रतिशत छात्रा छन् । स्थापनाकालदेखि नै यो विद्यालयले स्थानीय स्तरमा गुणस्तरीय शिक्षाको सन्दर्भमा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेकाे दूतावासले जनाएकाे छ। ती मध्ये काठमाडाैंका ४० गरी बागमती प्रदेशमा १०५ वटा रहेका छन् ।

यसका अतिरिक्त भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ । भारतले हालसम्म काठमाडौंमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुलबस उपलब्ध गराइसकेको छ ।

निकटको छिमेकी भएकाले भारत र नेपालबीच व्यापक एवम् बहुक्षेत्रीय सहकार्य रहेको दूतावासकाे भनाइ छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले नेपाली जनताको उत्थान गर्न तथा शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा भारत सरकारले गरेको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेकाे दूतावासले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार