बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो : गृहमन्त्री श्रेष्ठ

१६ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् । यसमा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको उनको भनाइ छ ।

संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताए ।

‘इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन, रियाक्टिभ देखियो,’ उनले भने । त्यही भएर श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी मन्त्री श्रेष्ठले बताए ।

यसैगरी अनुसन्धानमा सघाउन सहयोग होस् भनेर ललितपुरको प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख -एसएसपी) र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर -डीएसपी)लाई पनि जिम्मेवारीबाट हटाइएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीले कुनै पनि हालतमा गोली नचलाउनू भनेर आदेश दिँदादिँदै गोली चलेको रिपोर्ट आफूसँग रहेको मन्त्री श्रेष्ठले बताए ।

आफूहरुको प्रारम्भिक बुझाइ सुरक्षा कमजोरी भएको भन्दै मन्त्री श्रेष्ठले वास्तविक अवस्था पत्ता लगाउन जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार