राष्ट्रिय सभा सदस्यको उम्मेदवार र केन्द्रीय समितिको एजेन्डा तय गर्न जसपाको कार्यकारिणी बैठक बस्दै

काठमाडौं १०, पुस । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकािरणी समितिको बैठक केहीबेरमा बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा साढे बाह्र बजेतिर सुरु हुने कार्यकारिणीको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्ने बताइएको छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रयोजनका लागि जसपा नेपालको तर्फबाट उम्मेदबार चयन गर्नुका साथै आजको कार्यकारिणी बैठकले यही पुस मसान्तमा आह्वान गरिएको केन्द्रीय समिति र राजनीतिक समिति बैठकको एजेन्डा तय गर्नेछ ।
यही पुस २५ गतेदेखि काठमाडौंमा जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरिएको छ । सोही बैठकलाई निरन्तरता दिँदै पुस २६ र २७ गतेलाई केन्द्रीय समिति सदस्यहरुको बैठक बस्नेछ ।
पार्टीले सञ्चालन गरेको संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको प्रभावकारिता बारे बैठकमा छलफल हुनेछ । यसअघिको कार्यकारिणी बैठकले संगठन बिस्तार एवं सुद्दढीकरण अभियानको अवधि बढाएर पुस मसान्तसम्मलाई तोकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार